पर्वत – पर्वतको उत्तरी जलजला गाउँपालिकामा सात सय २२ जनाले बेरोजगार आवेदन फारम भरेका छन् । गाउँपालिकाका ९ वटै वडामा बेरोजगारीको सूची दर्ताका लागि आवेदन फारम भर्ने सुविधा उपलब्ध गराएको थियो । फारम नभरेकाहरुले अझै आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर फारम भर्न गाउँपालिकाले अनुरोध गरेको छ । सरकारले चैत महिनाभित्र बेरोजगारीहरुले आफ्नो वडा कार्यालयमा पुगेर बेरोजगार आवेदन भर्न आह्वान गरेको थियो ।सोमबार सम्म वडा नम्बर १ वासखर्कमा २०, ३ माझफाँटमा ७० ४ मल्लाजमा ८०,४ मल्लाज फटकेढुङ्गामा २५,५ लेखफाँटमा ५०,६ सालिजामा १००,७ धाइरिङमा १२७,८ नाग्लिवाङमा १५० र ९ बनौंमा १०० जनाले बेरोजगार सूचिमा सूचिकृतका लागि आवदेन भरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार अझै चैत मसान्त सम्म बेरोजगार फारम भर्न पाइन्छ । सरकारले रोजगार संयोजक छनौट गरी सवै स्थानीय तहमा बेरोजगारीहरुको सूचि तयार पार्न थालेको हो ।बेरोजगार दर्ताको लागि एउटा फारम भर्नुपर्छ । सरकारले तयार पारेको फारम सबै वडा कार्यालयमा पाइन्छ । रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन पाउँ भन्दै निवेदन पेश गर्नुपर्ने हुन्छ । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्ने दिनुपर्ने हुन्छ ।रोजगारीको हकसम्बन्धी ऐनमै कम्तिमा सय दिन काम दिने व्यवस्था छ । त्यसैअनुसार एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारी दिन यो कार्यक्रम ल्याइएको हो ।स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक यस कार्यक्रममा समावेश हुन पाउनेछन । निवेदको दक्षता, क्षमता र सीपको आधारमा रोजगार सेवा केन्द्रले नै रोजगारीका लागि सिफारिस गर्नेछ ।प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सरकारले कृषि, पर्यटन, सडक यातायात, उर्जा, वन तथा वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका क्षेत्र पहिचान गरेको छ । सरकारले न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगार नागरिकलाई निर्वाह भत्ता दिनेछ