प्रमुख समाचार

पर्वतको शंकरपोखरीका असिना पिडित कृषकले अझैसम्म पाएनन् राहत

By लोकतन्त्र अनलाईन

November 09, 2019

पर्वत– असिनापानीका कारण ठुलो क्षति व्यहोरेका पर्वतका पिडित कृषकहरुले अझैसम्म पनि राहत पाउन सकेका छैनन् । पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा गत जेठमा खाद्यबाली र तरकारीमा ठूलो क्षती व्यहोरेका किसानहरुले अहिले सम्म राहात पाउन नसकेका हुन् । किसानहरु राहातको पखाईमा भएपनि अहिले सम्म राहातको कुनै गुन्जायस नपाएको कृषक प्रेमप्रसाद तिवारीले गुनासो गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा र कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मी लगायत गाउँमै पुगेर किसानलाई राहात दिने आश्वसन दिए पनि अहिले सम्म सरकारको राहात शंकरपोखरीमा पुग्न सकेको छैन । किसानहरु सरकारले राहात दिने प्रतिक्षामा रहेपनि सरकारले छलेको भन्दै आक्रोशित भएका छन् । शंकरपोखरीको मैदान, पोखराचौर, धुवीकोट, थुम, भलपोखरा, पुर्कोट, कुँडापानी, चाम्लेस्वाँरामा ३ सय हेक्टरमा मक खेती नष्ट भएको थियो भने किसानहरुले गरेको व्यवसायिक तरकारी खेती असिनाले सोत्तर बनाएको कृषि प्राविधिक कृष्णप्रसाद तिवारीले बताउनुभयो । ६० वटा प्लाष्टिक टनेलमा असिनाले क्षती भएको र अहिले सम्म तरकारी उत्पादन हुन नसकेको तिवारीले बताउनुभयो । असिनाले अन्नको बीउ समेत बाँकि नरहेपछि किसानहरुले राहातको माग गरेका थिए । देशका उच्च तहमा पुगेका व्यक्ति गाउँमा पुगेर राहात दिने वाचा दिएपछि स्थानीय राहात आउने कुरामा ढुक्क थिए । तर, अहिलेसम्म राहात नआउँदा किसानहरु सरकारको विश्वास गुम्दै गएको गुनासो गर्न थालेका छन् । फलेवास नगरपालिकाले भने राहातका लागि केन्द्र र प्रदेश सरकारसँंग माग गरेको र अहिले पनि पहल गरिरहेको जनाउँछ । नगरप्रमुख पदमपाणी शर्माले राहातको खोजी गरिरहेको बताउनुभयो । असिनापानीले आहात भएपछि काँग्रेस नेता गंगाधर तिवारीले रु. एक लाख रुपैयाँ राहात दिए पनि अरु निकायले कुनै क्षतीपुर्ती नदिएको किसान पूर्णबहादुर दर्जीले बताउनुभयो । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा छ ।