काठमाडौं : आठ दशक पार गरेका वृद्धवृद्धाले अब ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’को दर्जा पाउने भएका छन्। प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले ‘अति वरिष्ठ ज्येष्ठ’ नागरिकको सम्मान दिने निर्णय गरेको हो। तिनलाई सुविधा थप्नेबारे भने छलफल हुन बाँकी छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको ज्येष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयकमाथि दफावार छलफलमा दुई प्रकारका ज्येष्ठ नागरिक राख्ने पारित भएको हो भन्ने खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ। यस्ता नागरिकलाई सुविधा दिने विषयमा भने केही उल्लेख छैन। ‘हामी अहिले दर्जाका विषयमा मात्र प्रवेश गरेका छौँ’, सांसद लक्ष्मी परियारले भनिन्, ‘सुविधाको विषय दफावार छलफलमा आउँछ।’ सांसद दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल र सुजता परियारको संशोधनलाई समितिले पारित गर्दै ७० माथिका नागरिकलाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’ र ८० माथिकालाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ भन्ने सहमति भएको हो। ‘उहाँहरूको सम्मानका लागि पनि अति वरिष्ठ शब्द राखेर जाऔँ’, राजभण्डारीले भने, ‘सम्मान दिनलाई किन हिचकिच्याउने?’ केही सांसदले शब्दको मात्र सम्मानप्रति आपत्ति जनाएका छन्। उनीहरूले ज्येष्ठ नागरिकलाई विषेश सुविधा दिन सके मात्रै वरिष्ठ ज्येष्ठ नागरिकको सम्मान दिनुपर्ने बताए। ‘हामीले अति वरिष्ठ भनेर शब्दमा मात्रै भन्ने हो भने त्यसको केही महत्त्व छैन’, सांसद विमला विश्वकर्माले भनिन्, ‘अति वरिष्ठ ज्येष्ठ नागरिक भने जस्तै सुविधा पनि त्यहीअनुसार दिएर अघि बढ्नुपर्छ।’ अति वरिष्ठ ज्येष्ठ नागरिक राखिसकेपछि कानुनमै उनीहरूले ठोस स्थान पाउनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए।