
माधब पराजुली,पोखरा
गण्डकी प्रदेश सरकारले १९० होमस्टेसँग पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न पूँजीगत अनुदान दिनका लागि शुक्रवार सम्झौतामा हस्ताक्षर गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा करीब ३०० होमस्टेमा पर्यटन पूर्वाधारका लागि रु. ३० करोड बजेट व्यवस्था गरेर प्रश्ताव आह्वान गरेकोमा २३२ वटाले प्रश्ताव दर्ता गरेका थिए । त्यसका लागि प्रत्येक होमस्टेलाई रु. १० लाखका दरले प्रदान गर्ने योजना सरकारको छ । सम्झौता भएकाहरुलाई पहिलो किस्ता बापत शुरुमा रु. चार लाख प्रदान गरिने उद्योग,पर्यटन वन तथा वातावराण मन्त्रालयले जनाएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे संघीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताउनुभयो । उहाँले गरीबीको अन्त्य गरी जनताको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको मूख्य दायित्व रहेको बताउदै उपलव्ध प्राकृतिक स्रोतको परिचालन गरी गरीबीको दर घटाउने योजना सरकारको रहेको र त्यसमा होमस्टे बाट सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आगामी पाँच वर्षभित्रमा गण्डकी प्रदेशको हालको १४ प्रतिशतको गरीबीलाई सात प्रतिशतमा झार्ने बताउँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो,‘ अहिलेको प्रदेशको १४ प्रतिशत गरीबीलाई पाँचवर्ष भित्रमा ७ प्रतिशतमा र १२ वर्षभित्रमा दुई प्रतिशतमा झार्ने योजना सरकारको छ।’
होमस्टे ग्रामीण पर्यटनको केन्द्रको रुपमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले होमस्टे सञ्चालकले पाहूनाको चित्त बुझाएरमात्र व्यवसाय गर्नुपर्ने बताउनुभयो ।
‘होमस्टेमा पुग्ने पाहूनालाई खुशी बनाएर, सबै कुराको मेनू राखेर मात्र व्यवसाय सञ्चालन गर्नोस्। घर तथा कोठाको सरसफाईमा ध्यान दिनोस्।’ उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको मर्मलाई आत्मसाथ गर्न रोजगारीका अवसर सृजना गरी जीवनस्तर सुधार्न होमस्टे महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो ।
उहाँले संस्कृतिलाई होमस्टेसँग जोड्नुपर्ने खाँचौ औँल्याउँदै अर्गानिक उत्पादन मार्फत पर्यटकको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरी १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको बताउँदै प्रदेशमा आएका पर्यटकलाई गाउँ गाउँमा जाने वातावरण निर्माणमा होमस्टेको योगदान हुने बताउनुभयो ।
पर्यटन पूर्वाधार निर्माणको लागि पूँजीगत अनूदान पाएका होमस्टेलाई अनुदानको सही सदुपयोग गर्न आग्रह गर्दै मन्त्री लम्सालले कुनै एउटाले बदमासी गर्दा सम्पूर्ण होमस्ेटकोनै वदनाम हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।