मुख्य समाचार

पर्वतको मोदीमा नगद र गहना चोरेर फरार चार युवा पोखराबाट पक्राउ

By लोकतन्त्र अनलाईन

January 08, 2019

पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेका चार युवालाई पोखराबाट पक्राउ गरेको छ । पुष ६ गते राती मोदी गाउँपालिका–२ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्राउ गरी सोमवार पर्वतमा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा पर्वतकै पर्वत मोदी गाउँपालिका–३ घर भई हाल कास्की वस्ने राजेश वि.क, रुकुमको उत्तरगंगा गाउँपालिका–४ बस्ने बावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जु कुमार सुनार र सुन्दर बि.क रहेका छन । घट्ना लगत्तै उनीहरुको खोजीमा लागेको प्रहरीले गएको पुष २० गते उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले चापागाईको घरमा रहेको दराज फोरेर साढे एक तोलाको सुनको माला एक थान, दुई तोलाको सुनको वाला एक थान, सुनको औँठी एक थान, २ ओटा घडी, २ ओटा पन्चरत्ने वाला र नगद रु.६४ हजार रुपैयाँ चोरी गरेका थिए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।