प्रमुख समाचार

पाँच घण्टा ढिलो गरी कांग्रेस केन्द्रीय समिति बैठक सुरु

By लोकतन्त्र अनलाईन

July 07, 2019

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक निर्धारित ढिला गरी सुरु भएको छ। एजेन्डाका विषयमा शीर्ष तहमा विवाद भएपछि निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो गरी सुरु भएक हो। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बेलुकी ६.४५ बाट सुरु भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। उनका अनुसार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेन्डा प्रस्तुत गरेका छन्। पार्टीको घरेलु कार्यभार र राष्ट्रिय अभिभारासँग सम्बन्धित एजेन्डा महामन्त्री खड्काले प्रस्तुत गरेको उनले बताए। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीको १४ औं महाधिवेशनको मितिबारे पनि केन्द्रीय कार्य समितिमा छलफल हुनुपर्ने एजेन्डा अघि सारेपछि आइतबार अपरान्ह २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक निर्धारित समयमा हुन सकेको थिएन। आइतबार बस्ने बैठकमा पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समीक्षा गर्ने, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिलाई पूर्णता दिने मुख्य एजेन्डा तय गरिएको थियो। यसअघि केही नेताले पार्टीको आगामी महाधिवेशनको पनि सुनिश्चित हुने गरी छलफल अघि बढाउनुपर्ने एजेन्डा पनि तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएपछि बैठक बस्न ढिलाई भएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिएका थिए।