मनोरञ्जन

गण्डकी प्रदेश स्तरिय महिला महोत्सवको तयारी पुरा, आज रक्तदान कार्यक्रम

By लोकतन्त्र अनलाईन

February 07, 2019

पर्वत– ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव शुरु हुनु एक दिन अगाडि आज बिहान रेडियो दिदी बहिनीको आयोजनामा रक्तदान कार्यक्रम राखिएको छ । भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले औपचारिक रुपमा महोत्सवको उद्घाटन गर्दै हुनुहुन्छ भने त्यसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ११ बजे महोत्सव गर्न लागिएको बान्द्रबिंडी चौरमा रक्तदान गरिने छ । रक्तदान कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुहुनेछ । धेरै बिरामीहरुले अझै पनि रगतको अभावमा अकालमै ज्यान गुमाउन परेको भन्दै रेडियोले हरेक पटकको महोत्सवमा रक्तदान सहित निशुल्क स्वास्थ्य शिविर लगायतका प्रत्यक्ष फाईदा हुने कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । यसैबीच, रेडियोकी अध्यक्ष चापागाईँका अनुसार २५ गतेबाट शुरु हुने महोत्सवको लगभग सबैजसो तयारी पूरा भएको छ । महोत्सव हुने स्थानमा स्टेज निर्माणदेखि स्टल बनाउने, रमाईलो मेलाका लागि आवश्यक संरचना जडान गर्ने, कृषि प्रदर्शनी, बिभिन्न प्रतियोगिताहरुको तयारी अन्तिम चरणमा पुगेको छ । यस बिषयमा जानकारी दिन भोली बिहान ११ बजे रक्तदान कार्यक्रसंगै पत्रकार सम्मेलनको पनि आयोजना गरिएको रेडियोले जनाएको छ । रेडियोले हरेक बर्ष महिला महोत्सव आयोजना गर्दै आएको छ । अहिले ११ औँ महिला महोत्सव शुरु हुन लागेको भएपनि रेडियो स्थापना भएको भने नवौँ बर्ष हो । महोत्सवमा ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० रुपैयाँ मात्र लाग्ने छ । महोत्सवका अवसरमा यस बर्ष तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका साथै प्रथम दिदीबहिनी डान्स आईडल, खुल्ला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाँकी प्रदर्शन प्रतियोगिता, जनप्रतिनिधि र संचारकर्मीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता लगायतका प्रतिस्पर्धाहरुको आयोजना गरिएको छ । २०६६ साल फागुन १४ गते एक सयौँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर रेडियोले प्रशारण शुरु गरेको थियो ।