पत्र-पत्रिका

अस्थायीको परीक्षामा स्थायी शिक्षक !

By लोकतन्त्र अनलाईन

February 06, 2019

काठमाडौं : सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, तत्कालीन निम्न माध्यमिक(अहिले आधारभूत) तहमा स्थायी पदमा कार्यरत मुलुकभरका ५३ शिक्षक अस्थायी शिक्षकका लागि  मात्र लिइएको परीक्षामा सहभागी छन्। शिक्षक सेवा आयोगका अनुसार ती सबै शिक्षक माध्यमिक तहका लागि प्रतिस्पर्धा गरिरहेका हुन्। तर अस्थायी शिक्षकका लागि सञ्चालन गरिएको परीक्षामा स्थायीले प्रतिस्पर्धा  गरेको थाहा पाएपछि आयोगले उनीहरूको उत्तरपुस्तिका परीक्षण नगरी अस्थायीको मात्र गर्‍यो। अस्थायी शिक्षकका मात्र उत्तरपुस्तिका परीक्षण सकेर आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकको छ। तर आयोगले आफूहरूको उत्तरपुस्तिका परीक्षण नगरेर अन्यायमा पारेको दाबीसहित उनीहरू कानुनी उपचारका लागि सर्वोच्च अदालतमा गए। अस्थायीको परीक्षामा सहभागी स्थायी शिक्षककै मागअनुसार अदालतले स्थायी पदमा कार्यरत भए पनि अस्थायीको परीक्षामा सहभागिता जनाएका शिक्षको समेत उत्तरपुस्तिका जाँच्न आदेश दिएपछि आयोग अप्ठेरोमा परेको छ।