प्रमुख समाचार

उपचारका लागि अब टाढा जानु पर्दैन, पर्वतको कटुवाचौपारीमै फिजीयोथेरापी सेवा शुरु

By लोकतन्त्र अनलाईन

January 06, 2019

पर्वत- पर्वतको कुश्मा नगरपालिका ९ मा रहेको कटुवाचौपारी स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवाको शुभारम्भ साथै विरामी बोक्न आवश्यक स्ट्रेचर सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले ति सामाग्री हस्तान्तरण सहित फिजियोथेरापी सेवाको शुभारम्भ गर्नुभयो । आईएनएफ नेपालले फिजियोथेरापी मेशिन सहयोग गरेको हो । स्थानीय नशा तथा हड्डी सम्बन्धी रोगका बिरामीहरुलाई गाउँमै सुबिधा दिन संस्थाले मेशिन प्रदान गरेको हो । मेशिन बिनै एकवर्ष देखि स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा भने सञ्चालन हुँदै आएको थियो । स्वास्थ्य चौकीले एउटा स्वास्थ्यचौकीमा राख्न र अरु ९ वटा साविकका सबै ९ वटा वडामा बितरण गर्न स्ट्रेचर आफैँ खरिद गरेको हो । कटुवाचौपारी स्वास्थ्यचौकी ईन्चार्ज रुद्रप्रसाद सापकोटाका अनुसार फिजियोथेरापी मेशिन आईएनएफ संस्थाले १ लाख रुपैयाँमा खरिद गरेर प्रदान गरेको हो । स्ट्रेचर करिव ३५ हजारमा खरिद गरिएको सापकोटाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गदैै प्रमुख अतिथी कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले स्वास्थ्य लाई सर्वसुलभ बनाउन नगरपालिकाले जस्तोसुकै चुनौती मोल्न तयार रहेको बताउनुभयो । उहाँले अहिले पनि नगरपालिकाका सबै वडामा सहज रुपमा स्वास्थ्य सेवाको पहुँच नपुगेको बताउँदै आफुहरुको कार्यकालमा सबै स्वास्थ्य चौकीहरुलाई पूर्वाधारयुक्त बनाईने उदघोष गर्नुभयो । मानविय स्वास्थ्यका विषयमा जनप्रतिनिधीहरु सम्बेदनशिल रहेको लामिछानेले बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवासकुमार लामिछाने, कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, जिविसमा पूर्व उपसभापति रामशर्मा पौडेल, अपाङग उत्थान समाज पर्वतका कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, आइएनएफका प्रतिनिधी सूर्यबहादुर कुँवर, समाजसेवी तारा पराजुली, जग्गादाता प्रेमनारायण अधिकारी लगायतले बोल्नुभएको थियो । वडाध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा लामिछानेले स्वास्थ्यचौकीले स्थानीयवासीहरुलाई दिइरहेको सेवामा कुनै खोट नरहेको र आगामी दिनमा झनै प्रभावकारी सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।