काठमाण्डाै – नेताहरुबीच मत बाझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इञ्चार्ज र सह-इञ्चार्ज तोक्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो । के गर्दा बढी उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोलि बिहान नौ बजे पुन: बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा त्यस विषयमा विस्तृत छलफल गर्न नसकेको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘छलफल सकारात्मक भएको छ’, प्रवक्ता श्रेष्ठको भनाइ थियो, ‘भोलि बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज टुंगो लगाउने छ ।’ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार पार्नु भएको पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनु भएको छ । सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि त्यससम्बन्धी निर्णय लिन ढिलाइ हुन गएको हो । मंगलबार नै सचिवालयको बैठकमा त्याे विषय प्रवेश गराइएको थियो । पार्टी प्रवक्ता श्रेष्ठले भोलि बस्ने बैठकमा सो विषयको टुंगो लगाउने र कार्य विभाजनका अरु थप विषयमा पनि छलफल हुने बताउनुभयो ।