प्रमुख समाचार

प्रथम फलेवास महोत्सव आजदेखि शुरु हुँदै, सवै तयारी पुरा

By लोकतन्त्र अनलाईन

December 05, 2019

 

पर्वत– प्रथम फलेवास महोत्सवको तयारी पूरा भएको छ । यहि आजदेखि २९ गतेसम्म आयोजना गरिएको बृहत फलेवास महोत्सवको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ । युनाटेड स्पोर्टस क्लवले आजदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने भएका छन् । फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा आयोजनाको गर्न लागेको मेलाको तयारी पूरा भएको सम्मेलनमा जानकारी दिएको हो । क्लबका अध्यक्षका अनुसार १ सय ५० वटा स्टल बनाईएको र सबै स्टल बुकिङ भैसकेको छ । विद्युत, खानेपानी र सुरक्षाको व्यवस्था सबै व्यवस्थापन भईसकेको छ उनले भने । मेलामा २ दर्जनको हाराहारीमा सबै विद्याका राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहेको छ । कार्यक्रममा जनवादी गायक जिवन शर्मा, प्रजापती पराजुली, चन्द्र शर्मा, बद्री पंगेनी, पशुपति शर्मा, विमलराज क्षेत्री, बसन्त थापा, दुर्गेश थापा, ज्याती मगर, कस्तुप पन्त, कृष्ण अखेली, खेम सेन्चुरी, तेजेश रेग्मी र सरोज साजन श्रेष्ठ लगायतका लगाकारको बेजोड प्रस्तुती रहेको छ । फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको आयोजकको भनाई छ । मेला सफल बनाउन अहिले देश देखी विदेशसम्म सहयोग उठाउन थालिएको छ ।

आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिए । स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले बताए । मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताए ।