प्रमुख समाचार

अलपत्र कालीगण्डकी करिडोरप्रति राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको चासो, प्रजिअलाई दिए निर्देशन

By लोकतन्त्र अनलाईन

November 05, 2019

पर्वत– पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबास देखि अर्मादी सम्मको काम लामो समय देखि अलपत्र परेको छ । दुई बर्ष अघि नै ट्रयाक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्रे गर्ने कार्य समेत पछि धकेलिने भएको छ । निर्मााणको काम गर्ने जिम्मा लिएको सुर्य कन्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिडेको छ । २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्ट्रक्सनले काम बीचैमा छोडेर सम्पर्क विहीन भएको लामो समय बित्यो । कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किमि सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको कार्यालयले जनाएको छ । कन्स्ट्रक्सनले फलेबास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किमि ठेक्का लिएको हो । काम सकिनुपर्ने समयभन्दा एक वर्ष ढिलासम्म ट्रयाक नखोलेपछि पाल्पास्थित कार्यालयले कम्पनीलाई जरिवानासहित मिति थपेको थियो । थपिएको मिति आगामी मंसिरमा सकिँदैछ । पाल्पास्थित करिडोर कार्यालयका प्रमुख नरेन्द्र सुवेदीका अनुसार ठेक्का सम्झौता मितिमा काम नसकेपछि कन्स्ट्रक्सनलाई जरिवानासहित मिति थपिएको थियो । ‘थपिएको मिति मंसिरमा सकिँदैछ,’ सुवेदीले भन्नुभयो ‘त्यहाँसम्म काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने हो ।’ १४ किमि ट्रयाक, नाली र आवश्यक अरु संरचना निर्माणका लागि कम्पनीले ९ करोड १७ लाख ४९ हजार २ सय ४५ को लागतमा ठेक्का लिएको हो । पर्वतको रानीपानी देखि अर्मादी सम्म कालोपत्रे गर्नका लागि पहल भैरहेको छ । रानीपानी देखि फलेबास सम्म सडक चक्लाबन्दी कार्य समेत तीब्र पारिएको छ तर फलेबास अर्मादी खण्डमा काम नहुँदा कालोपत्रे गर्ने कार्य पछि धकेलिने भएको छ । गृह जिल्ला आउनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ट्रयाक खोल्ने काम सम्पन्न गर्नका लागि आबश्यक पहल र्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई निर्देशन दिनुभयो । उहाँले यो बर्ष ट्रयाक खोल्ने काम सम्पन्न भएमा आगामी बर्ष कालोपत्रेका लागि टेण्डर आब्हान गर्न सकिने भएकाले समयमा काम सक्न आबश्यक भएको कुरामा जोड दिनुभयो । मोदीबेनीदेखि अर्मादीसम्मको तीन किमि ट्रयाक अझै खुलेको छैन । ‘सडक अलपत्र पार्ने जोसुकै भए पनि कारबाही हुनुपर्छ,’ फलेवास–४ का कृष्णप्रसाद लम्सालले भन्नुभयो ‘पैसा लिएर अलपत्र पार्नेलाई ठेक्का किन दिने । राष्ट्रिय गौरवको आयोजना भनेर पैदल हिंड्न पनि पाइएन ।’ आयोजना कार्यालयका अनुसार ठेकेदारले ३० प्रतिशतभन्दा बढी काम गरेको छैन । काम अलपत्र पारेपछि आयोजना कार्यालय ठेकेदार कम्पनीलाई कारबाहीको तयारीमा छ । व्यावसायीले काम सुरु नगरेपछि गत जेठ ४ मा १० प्रतिशत जरिवानासहित आयोजना कार्यालयले म्याद थप गरेको थियो । कार्यालयका अनुसार कन्स्ट्रक्सन कम्पनीले प्रतिदिन ४५ हजार ९ सयका दरले जरिवाना तिर्नुपर्छ । पर्वतमा ७६ किमि दुरी समेट्ने यो सडकले जिल्लाका एक नगरपालिका र ३ गाउँपालिका समेट्छ ।