बागलुङ — धार्मिक पर्यटकीय गन्तव्य बनाउन धमाधम संरचना बनिरहेको पञ्चकोट पुग्न केबलकार बनाइने भएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा स्थानीय बासिन्दाको सेयर संकलन गरेर केबलकार बनाउन चिनियाँ कम्पनीले अध्ययन गरेको छ । चीनको बेइजिङ गुडयु रोपवे इन्जिनियरिङ कम्पनीले प्रारम्भिक अध्ययन गरेर केबलकार बनाउन सकिने प्रतिवेदन दिइसकेको छ । नगर प्रमुख जनकराज पौडेलको आग्रहमा नेपाली इन्जिनियर श्याम अधिकारीले चिनियाँ कम्पनीसँग सम्पर्क गराएका थिए । एक महिनाको अध्ययनपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रुआन बीआईओले सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरे । ‘भौतिक र धार्मिक महत्त्वको हिसाबले केबलकार बनाउन उपयुक्त छ,’ बीआईओले भने, ‘ठूला कम्पनीलाई लगानी गर्न लगाउनुभन्दा स्थानीयकै लगानी भएमा दिगो र नाफा गाउँमै रहन्छ ।’ उनले कम्पनीले प्राविधिक काममा सघाउने बताए ।केबलकार बनाउने र फिटिङ गर्ने दुवै काम गरेको कम्पनीले चीन, भारत र बंगलादेशमा दर्जनौं योजना सम्पन्न गरेको दाबी गरे । नेपालमा पहिलो पटक काम गर्न आउन खोजेको उसले एक वर्षमै योजना सम्पन्न गर्ने जनाएको छ । साढे २ किमि लामो केबलकारका लागि ७ सय १०मिटर उचाइको संरचना निर्माण हुनेछ । दैनिक ३ हजार जनासम्म यात्रीलेआउजाउ गर्न सकिने भएकोले धार्मिक पर्यटक बढ्दा २ वर्षमा नाफा कमाउन सकिने प्रतिवेदनमा छ ।कम्तीमा ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको योजना आसपासमा भौतिक संरचना निर्माण, पर्यटकीय अन्य आकर्षणका क्षेत्रसमेत बनाइसक्दा ८० करोड खर्च हुने अधिकारीले बताए । त्यसका लागि बागलुङ नगरपालिकाको ४, ५ र ६ वडा र बजारवासीलाई १० हजार देखि १ लाख रुपैयाँको सेयर खरिदमा आग्रह गर्ने वडा ४ का अध्यक्ष धु्रवबहादुर केसीले बताए ।‘यो अभियानले हाम्रो नगरको गौरव बढ्ने हो, त्यसैले सबैलाई बुझाएर लगानी गर्न भन्नेछौं,’ केसीले भने, ‘विकासका सम्भावनाबारे सबैलाई बताउँदा यो सम्भव पनि हुनेछ ।’ एक सय ८ फिट अग्लो कलससहित धार्मिक गन्तव्य निर्माण गर्न लागिएको पञ्चकोटको डीपीआर तयार भएकोले केबलकार परियोजना थप सहयोगी बन्ने नगर प्रमुख जनकराज पौडेलले बताए ।पाँच वर्षदेखि सहायक पूर्वाधार बनिरहेको पञ्चकोटमा आगामी वर्ष मुख्य कलस निर्माणको काम थाल्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले संघीय सरकारका लागि समपूरक कोषमा बजेट माग गरेको छ । मन्त्रालयले तेस्रो प्राथमिकतामा पञ्चकोटको पूर्वाधार निर्माणका लागि ३२ करोड रुपैयाँ अर्थमन्त्रालयमा माग गरेको उद्योग, पर्यटन तथा वनमन्त्री विकास लम्सालले बताए ।१० करोडभन्दा ठूलो रकमको योजनालाई प्रदेश सरकारले संघीय अर्थमन्त्रालयमा समपूरक कोषका लागि सिफारिस गर्नसक्ने प्रावधान छ । डीपीआरमा ३२ करोडमा कलश बनाउने उल्लेख रहेको सर्वसिद्धिधाम पञ्चकोट निर्माण अभियानका प्रतिनिधि अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।