पर्वत – जलजला गाउँपालिकाको पर्वत बेनी र मल्लाजमा पनि बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।पर्वत बेनीको नवकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र बगरफाँट, लामाखेत र मिलनचोकका अन्य दश भन्दा बढी सहकारी संस्थाहरुको सहआयोजनामा संयुक्त रुपमा दिवस मनाइएको हो ।सहकारीका सञ्चालक र कर्मचारीहरुको ¥यालीले पर्वतबेनी बजार परिक्रमा गरेर नवकालीगण्डकी आमा समूहको भवन परिसरमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल जलजला ४ लामाखेत बस्ने दृष्टिविहीन जलन र सुस्मीता विकको परिवारलाई संयुक्त रुपमा २५ हजार रुपैयाँ सहयोग गरिएको थियो । नवकालीगण्डकीका अध्यक्ष डिलबहादुर बरुवालको अध्यक्षता, मल्लाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविन जिसीको सञ्चालन, लुङ्दी जलजला सहकारी मिलनचोकका अध्यक्ष राजुप्रसाद आचार्यको स्वागत मन्तब्य र राष्ट्रिय सहकारी संघका सदस्य चण्डीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।जलजला गाउँपालिका ३ मल्लाजमा रहेका सहकारी संघ संस्थाहरुले पनि संयुक्त रुपमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सहकारी दिवस मनाएका छन् । सो अवसरमा जलजला २ की बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारको लागि संयुक्त रुपमा छ हजार रुपैयाँ प्रदान गरिएको थियो ।साना किसान कृषि सहकारीका अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ता लामिछानेको सञ्चालन र नव सिर्जनशिल कृषि सहकारी संस्थाका टेकबहादुर जिसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको सनिता कार्कीले जानकारी दिए ।कार्यक्रममा मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लालबहादुर अधिकारी, साना किसान सहकारी संस्थाका डम्मर घर्ती क्षेत्री, मल्लाज भुतपूर्व सैनिक बहुउद्देश्यिय सहकारीका यामबहादुर जिसी, नयाँ कृषि अभियान सहकारीका राम थापा, जलजला ३ का वडा सदस्य शशी शर्मा आचार्य लगायतले मन्तब्य व्यक्त गरेका थिए । सहकारीकर्मीहरुले मल्लाजका विभिन्न सार्वजनिक स्थलको सरसफाई पनि गरेका थिए ।