पर्वत–रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहालीलगायत माग राख्दै नेपाल प्रेस युनियन पर्वतले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार प्रेश युनियन पर्वतका अध्यक्ष माया अधिकारी,उपाध्याक्ष रोशन तिवारी, सचिव साजन परियार लगायतको टोलीले पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो । सरकारी सञ्चार माध्यममा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई बिना कारण जागिरबाट निष्काशन गर्ने तथा करार अवधि थप नगर्ने जस्ता कार्यहरुप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाईएको भन्दै पनुर्बहाली गर्न माग गरिएको छ । साथै अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति पनि युनियनले ध्यानाकर्षण भएको बताएको छ । सरकारले मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति पनि आपत्ति जनाइएको छ । संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्नुपर्ने युनियनको माग छ ।