प्रमुख समाचार

पर्वतको डिमुवा–राम्जा सडक कालोपत्रे सुचारु

By लोकतन्त्र अनलाईन

May 03, 2019

पर्वत / छ महिना पहिले देखि अलपत्र अबस्थामा रहेको पर्वतको डिमुवा देखि राम्जा चित्रे जोड्ने डिमुवा– राम्जा सडक कालोपत्रे गर्ने कार्य सुचारु भएको छ । पर्वतको दोस्रो ब्यापारिक केन्द्र तिलाहार गाबिसको डिमुवा देखि राम्जा सम्म जोड्ने सडक कालोपत्रे गर्ने काम कार्यान्वयन गर्ने निकायको टुंगो नहुँदा गएको कार्तिक देखि अलपत्र थियो । सडक डिभीजन बागलुङ्गले कालेपत्रे गर्न शुरु गरेको डिमुवा –राम्जा सडक गण्डकी प्रदेश सरकारले हेर्न गरि टुंगो लागे संगै कालोपत्रे कार्य सुचारु भएको हो । पुर्वाधार बिकास कार्यालय पर्वतले दिएको जानकारी अनुसार डिमुवा–राम्जा सडकमा ७ किलोमिटर पक्की गर्ने काम सुचारु भएको छ । सडक डिभीजन अन्र्तगत रहेको सडक कार्यान्वयन गर्ने निकायको टुंगो नहुँदा गएको कार्तिक देखि काम रोकिएको थियो । ‘अहिले सडक प्रदेश मातहतमा आएपछि निर्माण ब्यबसायीको म्याद थपेर कालोपत्रे गर्ने कार्य सुचारु गरिएको छ ’ कार्यालय प्रमुख सिनियर डिभीजनल इन्जिनियर दयाराम अधिकारीले भन्नुभयो ‘असोज सम्म काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य शुरु भएको छ ।’ २०७३ मंसिर २४ बाट निर्माण कार्य शुरु भएपनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । गएको कार्तिक देखि सडक निर्माण पुरै रोकिएको अबस्थामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बिशेष पहल पछि सडक निर्माण कार्य सुचारु भएको स्वकिय सचिब उदय तिमिल्सीनाले जानकारी दिनुभयो । ‘सडक अलपत्र परेको अबस्थामा कार्यान्वयन गर्ने निकायको टुंगो लगाएपछि सडक निर्माण शुरु सुचारु भएको हो’ उहाँले भन्नुभयो ‘अब केही महिना भित्र राम्जा सम्म पक्की सडकमा पुग्ने रहर पुरा हुनेछ’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्म गाउँ हो । सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवाले काम गर्दै आएको छ । अहिले सम्म सडक चक्लाबन्दी गर्ने, टेवा पर्खाल लगाउने काम करिब सम्पन्न भएको र केही स्थानमा जाली भर्ने र पर्खाल लगाउने काम बाँकी रहेको निर्माण कम्पनीका साइड इन्र्चाज हरि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अहिले सम्म ६५ प्रतिशत काम सकिएको छ । असार महिना सम्म डिमुवा देखि रतिखोला सम्म डेढ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्यका साथ काम सुचारु गरिएको छ । ‘अब बेस बिच्छाउने र कालोपत्रे गर्ने काम बाँकी हो’ उहाँले भन्नुभयो ‘असोज सम्ममा कालोपत्रे गरि सक्ने गरि काम अघि बढाएका छौ’ लामो समय सम्म चुनाब, कार्यान्वयन गर्ने निकाय र अन्य कारणले काम सक्न कठिनाई भएको उहाँको भनाई छ । डिमुवा राम्जा सडक कालोपत्रे भएपछि पर्वतका तिलहार, राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको ११ नम्बर वडका बासिन्दाहरु प्रत्यक्ष गाबिसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन । सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने भएको छ । यसले त्यस क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तन आउने मोदी गाउँपालिकाका प्रबत्ता एबम वडा नं ६ का अध्यक्ष बिमल लामिछानेले बताउनुभयो ।यसैगरी डिमुवा–राम्जा सडकमा पर्ने रतीखोलामा पनि पक्की मोटरेबल पुल निर्माणको काम यसै बर्ष समाप्त हुने भएको छ । सडक कालोपत्रे र पुल निर्माणपछि बाहैैमहिना सडक सञ्चालनमा आउनेछ ।