पर्वत- न्यायिक सेवा तथा सुरक्षा सतर्कतामा ग्रामीणबासीहरुलाई सचेतना दिलाउन पर्वतका दक्षिणी क्षेत्रमा अवस्थित गाउँपालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । पर्वत जिल्ला अदालतको आयोजना तथा जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिएको हो । जिल्ला अदालतको न्यायिक बाह्य पहुँच कार्यक्रम अन्तर्गत न्यायिक क्षेत्रबाट हुने सेवा प्रवाह र नागरिक अधिकारको बारेमा जानकारी गराइएको थियो भने जिल्ला प्रहरी कार्यालय पर्वतबाट समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सतर्कताका बारेमा जानकारी गराइएको थियो ।महाशिला गाउँपालिका र पैञ्यु गाउँपालिका गरी तीन दिन सम्म सञ्चालित छुट्टाछुट्टै अभियानमुलक कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायधिबक्ता शेषराज शिवाकोटीले समुदायले न्याय र सुरक्षाको प्रत्याभूति गरेमा मात्रै स्वच्छ र निर्भिक समाज निर्माण हुने बताए । त्यस्तै जिल्ला न्यायधिश सुर्यबहादुर थापाले पछिल्लो समयमा राज्य पुनः संरचनाको स्वरुप सँगै स्थानीय तह स्तरमा समेत अहिले न्यायिक समिति बनेको र त्यहाँबाट आफु न्याय पाउन नसक्ने अवस्था देखिए जिल्ला अदालतमा न्यायिक अधिकार प्राप्तिका लागि आउन सर्वसाधारण आग्रह गरेका थिए । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने काम राज्यको भएपनि समुदाय स्तरमा समुदायमा बसोबास गर्ने नागरिक सचेत नभईकन राज्यका निकायबाट गरेको काम प्रभावकारी नहुने बताए । उनले सामाजिक विकृति उन्मुलन गर्न सके सवै खाले अपराध जन्य गतिविधि न्यूनिकरण हुने बताउँदै समुदाय सचेत रहन सुझाव समेत दिए ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाउन समुदायका नागरिकको सक्रियता महत्वपूर्ण रहेको बताउँदै प्रहरी र समुदायसँगको सहकार्यले जस्तोसुकै समस्या पनि समाधान गर्न सहज हुने बताए । अभियानका क्रममा जिल्ला अदालत पर्वत बार इकाईका अध्यक्ष भोलानाथ शर्माले समेत कानूनी अधिकार र नागरिकको सबालमा प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रममा अन्य कानून व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।