पर्वत — कुनै बेला आफन्तसँग कुरा गर्नुपर्दा रूखका टुप्पा र अग्ला डाँडामा पुगेर मोबाइलको नेटवर्क खोज्ने फलेबास–३ मासखेतका कृष्णप्रसाद सापकोटा अहिले घरैबाट विदेशमा रहेका आफन्तसँग भिडियोमा कुरा गर्छन् । महाशिला–२ भोक्सिङका जितबहादुर गुरुङलाई पनि अहिले ढुक्कले आफन्तसँग सामाजिक सञ्जालको माध्यमले फोन गर्न पाएका छन् ।जिल्लाका सबैजसो स्थानमा टेलिकमको थ्रीजी इन्टरनेटसहितको सेवा पुगेपछि अहिले जिल्लाका जुनसुकै कुना काप्चामा समेत इन्टरनेट सहज भएको छ । यसअघि टेलिकमले जिल्लाका सबै स्थानीय तहमा ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट पुर्याउने लक्ष्य अघि सारेको थियो ।लक्ष्यअनुरूप जिल्लाको मोदी, फलेबास, पैयुँ, कुश्मा नगरपालिका र जलजलाका बजार क्षेत्रमा ल्यान्डलाइन टेलिफोन र एडीएसएल सेवा विस्तार गरिसकेको थियो । ल्यान्डलाइन सबैतिर पुर्याउन सम्भव नभएपछि टेलिकमले ग्रामीण क्षेत्रमा हालै २३ वटा बीटीएस टावर विस्तार गरेर इन्टरनेट र टेलिफोनको सहज पहुँच विस्तार गरेको हो ।यसअघि टेलिकमका टावरले राम्रोसँग काम नगर्ने र इन्टरनेट चलाउन समस्या भएका कुनाकाप्चामा टावर थपिएको नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशवप्रसाद भुसालले जनाए । उनका अनुसार यस्तो नयाँ प्रविधिका टावर पैयुँको हुवास, बिहादीको शालिग्राम, महाशिलाको बालाकोट, फलेबासको थापाठाना, शंकरपोखरी, खानीगाउँ, पाङराङ र मुडिकुवामा विस्तार भएको छ ।कुश्मा नगरपालिकाका पकुवा, पीपलटारी, गोदाम, दुर्लुङ र पाङमा टावर निर्माण गरिएको छ । जलजलाका धाइरिङ, सालिजा, मोदी गाउँपालिकाको पातिचौर, गिज्यान, क्याङ, वाजुङ, र भुकताङलेमा पनि जडान गरिएको छ ।‘यसअघि कम्प्लेन आएका सबैजसो स्थानमा थ्रीजीसहितका नयाँ बीटीएस थपेका छौं,’ भुसालले भने, ‘नयाँ बीटीएसले काम गरेपछि सबै क्षेत्रमा थ्रीजी सहज हुन्छ ।’ यसले स्थानीयलाई सेवासँगै हाम्रो व्यवसाय विस्तारमा सहयोग पुग्छ ।टावर विस्तार गरिएको ठाउँमा राम्रो सेवा प्राप्त भएको स्थानीयले बताएका छन् । पहिले मोबाइलमा टावर नटिप्ने समस्या रहेको ठाउँमा सहजै टावर टिपेको र द्रुत गतिमा थ्रीजी सेवा उपयोग गर्न पाएको मोदी–५ बाजुङस्थित सरस्वती प्राविका प्रअ वीरेन्द्र हमालले बताए । ‘यसअघि मोबाइलमा इन्टरनेट चलाउन पनि कुश्मा जानुपर्थ्याे ,’ हमालले भने, ‘अहिले घरघरै कुनाकाप्चामा पनि मज्जालेचलेको छ ।’टेलिकम पर्वतले चालु वर्ष सबै क्षेत्रको सेवा विस्तार र गुणस्तर सुधारका लागि चाइनिज कम्पनीसँग सम्झौता गरेर नयाँ प्रविधि विस्तार गरेको हो । प्रविधि विस्तारमा हालसम्म शंकरपोखरी, खानीगाउँ, अम्बोटलगायतमा विस्तार गर्न करिब १ महिना समय लागेको प्राविधिकहरूले बताएका छन् । अब सबै क्षेत्रमा थ्रीजीको टावर सकेपछि थप सबै स्थानमा फोरजी थप गरिने टेलिकमले जनाएको छ । इकान्तिपुरबाट