प्रमुख समाचार

सामाजिक विकास मन्त्री पुनद्धारा पर्वतमा संचालित कार्यक्रमको निरिक्षण, नेपालकै नमुना मोवाईल अस्पताल छिट्टै संचालनमा आउने

By लोकतन्त्र अनलाईन

January 03, 2019

पर्वत–गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीवार पर्वतमा विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रदेशको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय र कार्यक्रमको निरिक्षण तथा अनुगमन गर्नुभएको हो । उहाँले पर्वतको मोदी गाउँपालिका स्थित डिमुवामा संचालनमा आउन लागेको मोवाईल हस्पिटलका बारेमा स्थलगत निरिक्षण तथा सरोकारवालाहरुसँग भेटघाट गर्नुभएको छ । शारिरीक रुपमा अस्वस्थ भएर पनि जनताकै कामको निम्ति राज्यले जिम्मेवारी दिएको भन्दै उहाँ अस्पतालको बेडबाटै पर्वततर्फ आउनुभएको थियो । प्रदेश सरकारले नेपालकै नमुना कार्यक्रमको रुपमा मोवाईल हस्पिटल संचालन गर्न थालेको हो । त्यसका लागि प्रकृया शुरु भैसकेको मन्त्री पुनले जानकारी दिनुभयो । अब कुनैपनि नागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर मोवाईल हस्पिटलेको अवधारणा ल्याईएको हो । जिल्ला अस्पताल र सुविधा सम्पन्न अस्पतालको पहुँच नपुगेका क्षेत्रका नागरिकलाई प्रत्यक्ष रुपमा सेवा पु¥याउने उद्धेश्यले मोवाईल अस्पताल संचालन गर्न लागिएको उहाँले बताउनुभयो । डिमुवामा रहने मोवाईल अस्पतालले मोदी गाउँपालिकाका साथै कास्कीको अन्नपुर्ण गाउँपालिका र सदरमुकाम कुश्माबजारको पहुँचबाट टाढा रहेका क्षेत्रका बासिन्दाहरुलाई उपचार सेवा प्रदान गरिने भएको छ । एक जना अनुभवी डाक्टर, केहि स्वास्थ्यकर्मी र एम्बुलेन्स तथा आवश्यक उपचार सामाग्रि र उपकरण सहित चौविसै घण्टा सेवा दिनेगरी जनशक्ति परिचालन गरिने छ । त्यसका लागि अहिले एम्बुलेन्स खरिद प्रकृया र अन्य व्यवस्थापनको काम भैरहेको छ । यो कार्यक्रम पर्वतसँगै तनहुँ र स्याङजाको वालिङमा संचालन हुने मन्त्री पुनका स्वकिय सचिब चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी सामाजिक विकास मन्त्री पुनले पर्वतमा रहेको व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको पनि निरिक्षण गर्नुभएको छ । सो अवसरमा उक्त कार्यलयद्धारा प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । अब मागको आधारमा तालिमहरु संचालन गर्ने, जो तालिम लिएर ब्यावसाय गर्न चाहान्छ त्यस्ता व्यक्तिहरुलाई मात्र तालिममा सहभागि गराउने र संचालित तालिम कार्यक्रमहरु जिल्लाका सवै क्षेत्रका नागरिकसम्म पहुँच पुग्नेगरी संचालन गर्न निर्देशन दिनुभएको सापकोटाले बताउनुभयो । मन्त्री पुनले पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र नेकपाका नेता मेघनाथ सुवेदी लगायतसँग पनि जिल्लाको समग्र्र अवस्थाका बारेमा छलफल गर्नुभएको थियो ।