प्रमुख समाचार

पर्वत अस्पताललाई रोटरी क्लबको उपकरण सहयोग 

By लोकतन्त्र अनलाईन

November 03, 2019

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोगस्वरूप प्रदान गरेको छ। जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने बाध्यता अन्त्य गर्नको लागि डिजिटल युएसजी मसिन र डिजिटल वेट मसिन हस्तान्तरण गरिएको हो। जिल्ला अस्पताल पर्वतमा यसअगाडि दुइटा युएसजी मसिन रहेकोमा अब तीनवटा मसिनबाट सेवा प्रवाह गर्न सकिने भएको छ। नेपालमा पोलियो रोग उन्मुलनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र जिल्ला अस्पतालमा पोलियो रोगसहित अन्य रोग निदानका लागि सामग्रीहरू उपलब्ध गराएको क्लबका अध्यक्ष लेखनाथ शर्माले बताए। विभिन्न सहयोगदाताहरूसँगको सहकार्यमा १५ लाख मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको हो। सामग्रीहरू ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले रोटरी क्लबले बिरामीहरूको सेवालाई ध्यानमा राखेर गरेको सहयोग अनुकरणीय रहेको बताए। उनले उपकरणहरू खरिदका लागि आर्थिक सहयोग गरेकाहरूप्रति पनि आभार व्यक्त गरे। क्लबले मसिन सहयोग गरेपछि यसअगाडि सेवा प्रदान गर्दै आएका उपकरणमा कुनै पनि समस्या आए पनि युएसजी गर्नकै लागि बिरामीहरूलाई पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताए। १० जना चिकित्सकहरूको दरबन्दी रहेको अस्पतालमा आवश्यक परेको अवस्थामा एकै पटक तीनवटै युएसजी मसिन चलाएर पेट, कलेजो, मिर्गौला लगायतको भिडियो एक्स-रे गर्न सकिने उनको भनाइ छ। सामग्री उपलब्ध गराएको रोटरी क्लब अफ पर्वतलाई जिल्ला कुस्मा नगरपालिकाको तर्फबाट उपप्रमुख सीता काफ्लेले लामिछाने र जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले धन्यवाद ज्ञापन गरेका छन्।