अर्थ/बाणिज्य

पर्वतको सबैभन्दा ठुलो दक्षिणा सहकारीको दोस्रो साधारणसभा

By लोकतन्त्र अनलाईन

October 03, 2019

पर्वत–पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । कुस्मा बजारका महिलाहरुले नेतृत्व गरेको दक्षिणा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा आएको ९ महिना पछि दोस्रो साधरणसभा सम्पन्न भएको छ । २०७५ माघ ७ गते देखि कारोबार शुरु गरेको संस्थाको शेयर पुंजी ६ करोड ७ लाख ५० हजार रहेको छ । सहकारीले ९ महिनाको अबधीमा १३ करोड ४६ लाख ६६ बचत संकलन गरेको छ भने १२ करोड ४४ लाख रुपैंया लगानी गरेको छ । कुस्माबजारका ब्यबसायी, बिभिन्न सामाजिक संस्थामा संलग्न महिलाहरु संस्थापक र कार्यसमितिमा समेत सबै महिला नै रहेको सहकारीमा २ सय ४३ जना शेयर सदस्य मध्ये पनि महिलाको संख्या दोब्बर भन्दा पनि बढी छ । सहकारीमा १ सय ७५ जना महिला रहेका छन भने ६८ जना मात्रै पुरुष शेयर सदस्यको रुपमा रहेका छन । सहकारीको साधारणसभाको अध्यक्ष निला श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले जिल्लाकै सबैभन्दा ठुलो शेयर पुंजी भएको सहकारी भएकाले यस आगामी दिनहरु धेरै बचत तथा ऋणको कारोबार गर्दै उत्कृष्ट बन्ने प्रतिबद्धता जनाउनुभयो । साधारणसभाको उद्घाटनका क्रममा सल्लाहका होमनारायण श्रेष्ठले छोटो अवधीमा नै सहकारीले राम्रो सफलता हासिल गरेको कारण यसलाई अझै बढाउँदै जान सुझाब दिनुभयो । सहकारीले आगामी बर्षहरुमा ब्यबसायिक उत्पादनका क्षेत्रहरुमा समेत लगानी गर्दै जाने र राम्रा सहकारीहरु संग मर्जर गर्ने बिश्वास पनि ब्यक्त गर्नुभयो । सहकारीका शेयर सदस्य तथा प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले सहकारीले बचत तथा ऋणको मात्रै कारोबार नगरि उत्पादनमुलक क्षेत्रमा समेत लगानी गर्न आवश्यक छ भन्नुभयो । शेयर सदस्य तथा नमुना आवासिय माबिका अध्यक्ष यामप्रसाद शर्माले सहकारीको सुरुवातको कारोबार उत्साहजनक भएकाले यसले आगामी बर्षहरुमा सहकारी ऐनले दिएको अधिकार अनुसार ६० करोडको कारोबार गर्ने लक्ष्यमा पुग्नुपर्छ भन्नुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष ज्ञानुकुमारी श्रेष्ठ र सचिब माया अधिकारीले पनि सहकारीका बारेमा बोल्नुभएको थियो ।