काठमाडौं – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्वन्ध समितिले भारतको प्रतिष्ठित आईफा अवार्ड आयोजना नेपालमा गर्ने सम्बन्धी प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले भारतीय निजी व्यवसायिक संस्था विजक्राफ्टले नेपालमा गर्न लागेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड आइफा सम्बन्धी प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । सो अवार्ड नेपालमा आयोजना गर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र राष्ट्रिय अस्मितामाथि आँच पुर्याउने निष्कर्ष निकाल्दै तत्काल रोक्न निर्देशन दिएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । आईफा आयोजनाका लागि विजक्राफ्टले नेपाल सरकार समक्ष सम्झौताका लागि मस्यौदा पठाएको छ । विजक्राफ्टले पठाएको मस्यौदा अध्ययन गर्दा नेपालको हितमा नहुने स्पष्ट भएको उहाँले बताउनुभयो । समिति बैठकमा उपस्थित भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पर्यटन बोर्डका प्रतिनिधिले भने सो अवार्ड नेपालमा आयोजना हुँदा विश्वमाझ चिनिन सहज हुने बताएका थिए । यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र नेपालका लागि फलदायी हुने पनि उनीहरुको तर्क थियो । सरकारका प्रतिनिधिले दिएको जवाफ र सम्झौताका लागि आएको मस्यौदाबीचको तालमेल नमिल्ने भएकाले पनि तत्काल रोक्न निर्देशन दिएको सभापति खरेलले बताउनुभयो । एउटा निजी कम्पनीले एउटा अवार्डका लागि सरकारसँग सम्झौता गर्दा मुलुक कै स्वाधीनता र स्वतन्त्रतामाथि प्रश्न उठ्ने समितिको ठहर छ । सो अवार्ड नेपालमा गर्न सरकारले एक अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।