कुवेत –कुवेतमा एक नेपाली युवतीले अर्का नेपालीको हत्या गरेकी छन । बिगत चार वर्षदेखि अवैध रुपमा एउटै कोठामा बस्दै आएकी युवती माया गुरुङले कोठामै साथीको हत्या गरेकी हुन ।मायाले ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेको कुवेत प्रहरीले जनाएको छ ।कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेत प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ भने विकको शवलाई पोसमार्टमका लागि फोरेन्सिक विभागमा लगिएको छ । दुतावासका अनुसार अहिलेसम्म घटनाको विस्तत विवरण आइसकेको छैन, प्रहरीसँग थप विवरण लिने काम भने जारी रहेको छ । मृतक बिक र माया कुवेतको मंगाफस्थित ब्लक ४ मा बस्दै आएका थिए । घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी माया आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएकी थिइन । माया र खेमबीच लामो समयदेखि आपसी विवाद भइरहेको सो क्षेत्रमा रहेका नेपालीले बताएका छन ।उनीहरुका अनुसार मृतक विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि सो घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ । सो घरमा अधिकांश अवैध रुपमा वस्दै आएको बताइएको छ ।