प्रमुख समाचार

गाउँगाउँमा पुगेर विद्यार्थी पढाउँदै पर्वत प्रहरी

By लोकतन्त्र अनलाईन

May 02, 2019

पर्वत /प्रहरीले विद्यार्थीलाई सचेतनामूलक कक्षा दिन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले हरेक साता विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रमको कक्षा दिन थालेको हो  ।प्रहरीले पर्वतका सबै स्थानीय तहका माध्यमिक विद्यालयमा मुलुकी संहिता ऐन २०७४, आधारभूत सुरक्षा, समुदाय प्रहरी साझेदारीको महत्त्व, घरेलु हिंसा नियन्त्रण, साइवर सुरक्षा तथा लागूऔषध नियन्त्रण विषयमा कक्षा दिएको छ ।गत वर्षदेखि सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । ‘अहिले यो नियमित कामजस्तै भएको छ,’ उनले भने, ‘हरेक साता समुदायमा पुग्दा ससाना बालबालिकादेखि बूढाबूढीले समेत साथीजस्तो व्यवहार गर्छन् ।’ कुनै बेला प्रहरी देख्नेबित्तिकै तर्सिने स–साना बालबालिकाहरूमा समेत प्रहरीप्रति हेर्ने नजर बदलिएको उनले बताए ।प्रहरीले विद्यालयमा सञ्चालन गर्ने सचेतना कक्षाले विद्यार्थीहरूमा ऐनकानुन, सामाजिक व्यवहार र सम्बन्ध, समुदायमा आफ्नो कर्तव्य र दायित्वलगायत विषयमा जानकारी वृद्धि भएको शिक्षकहरूले बताए । ‘बालबालिकाहरूले अभिभावकभन्दा शिक्षकलाई विश्वास गर्छन् । शिक्षकलाई भन्दा प्रहरीलाई,’ थापाठाना माविका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले भने, ‘एउटै कुरा अभिभावक, शिक्षक र प्रहरीले भन्दा प्रहरीको कुरा धेरै प्रभावकारी हुन्छ ।’प्रहरीले सिकाएका विषय विद्यार्थीमा गहिरो छाप पर्ने उनले बताए । प्रहरीले सिकाएका विषय विद्यार्थीले विद्यालय, परिवार र समुदायमा सहजै लागू गर्ने बताए । प्रहरीले विशेषगरी कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई यस्ता सचेतना कक्षा सञ्चालन गर्दैआएको छ । मोदी गाउँपालिका–१ भुकस्थित भुक देउराली माविका प्रधानाध्यापक तथा विद्यालय सम्पर्क संयोजक विकास गुरुङले प्रहरीले सञ्चालन गर्ने यस्ता कार्यक्रमले विद्यालयलमा मात्रै नभएर समुदायमा समेत सकारात्मक छाप पर्ने बताए । ‘समाजमा हुने झैझगडा स–साना विवादले हुने हो,’ उनले भने, ‘विद्यार्थी समाजको मुख्य भूमिकामा हुन्छ ।’ विद्यार्थीलाई कानुन र कुलतबारे जानकारी गराउँदा त्यसको असरबारे सचेत हुनेभएकाले हरसमय उनीहरू सजग हुने उनले बताए । प्रहरीको यस्तो अभियानमा जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, सामुदायिक सेवा केन्द्रलगायतका जिम्मेवार पदाधिकारीहरू सहभागी हुनेगर्छन् । भुक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रजिअ ढकालले कानुनको अनविज्ञता क्षम्य नहुने भएकाले हरक्षण आफूले गर्ने कामप्रति सजग हुन आग्रह गरे ।संविधान र अहिलेको मुलुकी ऐनमा भएका धेरैजसो कानुन सामान्य लागे पनि त्यसले गम्भीर असर पर्नेभएकाले कानुनबारे जानकार हुनु सबै नागरिकको कर्तव्य भएको बताए । उनले शान्ति सुरक्षाका लागि विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका हुने बताए । प्रहरी नायब उपरीक्षक श्याम अर्यालले सामाजिक सुरक्षामा प्रहरीको भन्दा समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले सामाजिक विकृतिलाई हटाउन प्रहरी र विद्यार्थीको सम्बन्ध जरुरी रहेको बताए ।