प्रमुख समाचार

साहित्यकार भुसालको ‘परदेशमा झरेको फुल’ हेम–सरस्वति प्रतिष्ठानबाट पुरस्कृत

By लोकतन्त्र अनलाईन

February 02, 2019

पर्वत– पर्वतका युवा साहित्यकार दिनेश भुसालले लेखेको ‘परदेशमा झरेको फुल’ उपन्यासलाई हेम–सरस्वती प्रतिष्ठानले पुरस्कृत गरेको छ । गैह्र आवासिय नेपाली संघको युरोप सहसंयोजक तथा भाषा साहित्य संयोजक गोबिन्दप्रसाद गौतमको परिवारले गठन गरेको प्रतिष्ठानले पर्वतको फलेबासमा शनिबार आयोजना गरेको साहित्यीक कार्यक्रममा उपन्यासलाई नगद सहित पुरस्कृत गरिएको हो । राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष गौतमले उपन्यासकार भुसाललाई १५ हजार नगद र सम्मानपत्र सहित पुरस्कृत गरेका हुन । भुसालले लेखेको उपन्यासले रोजगारीको खोजीमा मुग्लान पसेका युवाहरुको कथा ब्यथालाई समेटेका छन । उक्त कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष गौतमले साहित्य प्रतिको अभिरुचीका कारण जन्मभूमिमा साहित्यसेवामा लाग्नेहरुलाई प्रोत्साहित गर्न र साहित्य क्षेत्रमा योगदान पु¥याउन प्रतिष्ठान गठन गरेको बताए । प्रतिष्ठानले पुरस्कारको राशी बढाउँदै जाने र हरेक बर्ष साहित्यीक कार्यक्रम गर्दै जाने बताउनुभयो । बरिष्ठ साहित्यकार तथा राष्ट्रिय सरलकवि शान्तिनारायण श्रेष्ठले पर्वतमा पछिल्लो समयमा साहित्यीक गतिबिधी कम हुँदै गएको बताउँदै यस्ता प्रतिष्ठानहरुले साहित्यको फाँटलाई हराभरा बनाउने बिश्वास ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा फलेबास नगरपालिका वडा नं ६ का अध्यक्ष भोलानाथ भुसाल, बरिष्ठ साहित्यकार जगन्नाथप्रसाद लम्साल, शिक्षाबिद् चेतनाथ कुवँर, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य शारदा शर्मा, पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष ठाकुरबि पौडेल, प्रेस चौतारी नेपालका निर्वतमान बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रगतिशिल लेखक संघका केन्द्रिय पार्षद अर्जुन निर्जन पौडेल, साहित्यकार याम ढुंगाना केसी, छोरी पढाउ अभियान्ता प्रेम बिश्वकर्मा, बिशाल पौडेल लगायतले रचनावाचन र साहित्यको बिकासका बारेमा धारणा राखेका थिए । कार्यक्रमको स्वागत एनआरएनए रसियाका अध्यक्ष रामेश्वर गौतमले र सञ्चालन पर्वत बहुमुखी क्याम्पसका प्रमुख खिलराज रेग्मीले गर्नुभएको थियो ।