मन्त्री लम्साल द्धारा कुश्मा मोदीवेणी सडकको अनुगमन,काम सन्तोष जनक रहेको भनाई

By लोकतन्त्र अनलाईन

January 02, 2019

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कुश्मा मोदीवेणी सडकको अनुगमन गर्नुभएको छ । बुधबार उक्त सडकको अनुगन गर्दै उहाँले सडकको काम समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड बमोजिम निर्माण गर्न आग्रह गर्नुभयो । यद्यपी काम सन्तोषजनक रहेको उहाँको भनाई थियो । उहाँले विकास निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने बताउँदै निर्माणाधिन पूर्वाधाहरु गुणस्तरीय बनाउन जिल्लाका सरोकारवालाहरुले पनि ध्यान दिनुपर्ने बताउनुभयो । उक्त सडक निर्माण पश्चात लोकमार्ग अन्तर्गत मोदीखोलामा निर्माणाधिन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने र कृषिउपज बजारिकरणमा समेत सहजता आउने बताउनुभयो । कालीगण्डकी लोकमार्गको ट्रयाक मोदीवेणीदेखि अर्मादीसम्म खोल्न बाँकी रहेका बेला उक्त सडकनै बैकल्पिक मार्गको रुपमा प्रयोग हुनेभएकाले पनि प्रदेश सरकारले उच्च प्राथमिकतामा पारेको बताईएको छ ।

चालु आर्थिक वर्षमा स्तरोन्नति र नाली निर्माणको काम सम्पन्न गर्ने र अर्को आर्थिक वर्षमा कालोपत्र र आवश्यक ठाउँमा ढलान गरेर पुर्ण रुपमा सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाईएको सडक निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिनुभयो ।

पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्न थालिएको छ । ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडक चक्ल्याउने र नाली निर्माण गर्ने काम शुरु भएको हो । सडक अभावकै कारण मोदीवेणी दिब्यधाममा जानआउन र उक्त स्थानको भौतिक पूर्वाधार निर्माणमा समेत समस्या परिरहेका बेला सडक स्तरोन्नतीको काम शुरु भएपछि दिव्यधाममा जानआउनका लागि समेत सहज हुने भएको छ । पर्वत जिल्लाको मुख्य शब दाहसंस्कार गर्ने घाटका रुपमा रहेको मोदीवेणीमा दैनिक मलामीहरु जान आउन समेत सहज हुने भएको छ । कालीगंगा निर्माण सेवाले बाटो चक्ल्याउने र नाली निर्माणको काम अघि बढाएको छ । झण्डै दुई तीन किलोमिटर लामो उक्र सडक इस्टिमेट अनुसार चक्ल्याउने काम करिब पुरा भएको र केहि ठाउँमा चट्टान काट्नुपर्ने भएकाले ब्रेकर लगाउने तयारी भएको निर्माण समितिले जनाएको छ । सडक निर्माण समितिका उपाध्यक्ष कमल भुसालका अनुसार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बिनीयोजन भएको रु ५० लाख रुपैयाले स्तरोन्नतीको काम शुरु गरिएको हो ।