पत्र-पत्रिका

प्रधानमन्त्रीका एडिसी मेजर शाही जुवाखालबाट पक्राउ

By लोकतन्त्र अनलाईन

November 02, 2019

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन्। नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका निरज राणा छन्। उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई म्यारिज खेलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए। प्रधानमन्त्रीको सरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ। मेजर शाही शुक्रबार बिदामा थिए। बिदाका बेला उनी सधैँजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ।