प्रमुख समाचार

असफल भएँ भने पद त्यागिदिन्छु – पर्यटन मन्त्री भट्टराई

By लोकतन्त्र अनलाईन

August 01, 2019

काठमाडौं – भर्खरै नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसूस हुनासाथ आफूले पद त्याग्ने बताएका छन् । बिहीवार तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले काम गर्न नसकेको दिन पद त्याग गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीको तिखो आलोचक मानिने भट्टराईले प्रधानमन्त्रीलाई आफूले काम गर्न नसकेको महसूस हुनासाथ पदबाट हट्ने बताएका हुन् । ‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यही हुनेछ, जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ भन्ने महसूस प्रधानमन्त्रीलाई हुन्छ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नुहुनेछ र म पदत्याग गर्नेछु ।’ भट्टराईले बल्खु पुगेर स्वर्गीय मदन भण्डारीको शालिकमा फूलमाला चढाएर माल्यापर्ण पनि गरे । बल्खुपछि मन्त्री भटृराई तत्कालीन माओवादीको मुख्यालय पेरिसडाँडा पुगेर शहीद तथा बेपत्ता योद्धा स्तम्भमा माल्यार्पण गरेका थिए ।