पर्वत- म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, बर्षा नभएको कारण सर्वसाधारण काठ, दाउरा र माछाको लागि नदीको किनारमा जानसक्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । माथिल्लो भागमा बर्षा भएको कारण नदीको सतह बढेर आएको हुनसक्ने अनुमान गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विस्तारको क्रममा निस्कीएको ढुंगा माटोलाई कालिगण्डकी नदीको किनारमा फाल्ने गरेकाले नदीमा पानीको सतह बढर आउँदा थप कटान र बाढीको जोखिम बढ्ने खतरा बढेको छ ।