प्रमुख समाचार

पर्वतको फलेवसामा आगलागीबाट बन्द भएको रेडियो डेढ महिनापछि सूचारु

By लोकतन्त्र अनलाईन

August 01, 2019

पर्वत– विद्युत सर्ट भएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महिना पछि सुचारु भएको छ । गत जेष्ठ २८ गते आगलागीबाट पुर्ण रुपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्ज बुधरवारदेखि पुन संचालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानन्तरण गरि संचालनमा ल्याईएको हो । फलेवास नगरपालिका वार्ड नं. ५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालय रहेको भवनमा रेडियोको नयाँ संरचना निर्माण गरि सम्पुर्ण प्रसारण सेवाहरु संचालन गरिएको स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिनुभयो । रेडियो पुनः प्रसारण शुभारम्भ कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले सामुदायिक रेडियोहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै नगरपालिका रेडियोसँगै सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । पछिल्लो समय सञ्चारको महत्व बढ्दै गइरहेका बेला यस रेडियोले नगरका जनताहरुलाई सुसूचित गराउन अहम भुमिका निर्वाह गरेको शर्माले बताउनुभयो । फलेवास नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले सञ्चार माद्याम नगरको गहना र सम्पत्तिको रुपमा रहेको बताउँदै यसलाई जोगाईराख्न नगरपालिकाले चौतर्फी सहयोग गर्दै जाने बताउनुभयो । नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले सञ्चार माद्यामहरु कसैको दबाब र प्रभावमा नपरी सत्य, तथ्य, निश्पक्ष हुनुपर्ने बताउँदै स्वतन्त्र सञ्चार माद्यामप्रति नागरिकको विश्वास हुने बताउनुभयो । रेडियो पुनः निर्माणका लागि पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारी घर भै हाल अमेरिका रहनुभएका भिष्म अधिकारीबाट रु. ३ लाख सहयोग गर्नुभएको थियो । रेडियो पुनःस्थापना गर्दा रु. १५ लाख ५० हजार खर्च भएको स्टेशन म्यानेर शर्माले जानकारी दिनुभयो ।