प्रमुख समाचार

कुश्माका मेयर जोशी भन्छन् ‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’

By लोकतन्त्र अनलाईन

June 01, 2019

पर्वत–पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । त्यसक्रममा बोल्दै जोशीले विद्यालयको विकासमा सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र समायानूकल बनाउन विद्यालय सुधारका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । जोशीले जिल्लाको पहिलो प्राविधिक शिक्षा दिने यस विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गरि राष्ट्रलाई योगदान गरेको बताउँदै यस्ता विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै कुस्मा ११ पकुवाका वडा अध्यक्ष शिब प्रसाद पौडेलले सामुदायिक विद्यालयलाई सुधार गरेर गुणस्तरिता बढाउन विशेष योजना ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा सुधार गर्न प्रारम्भिक तहदेखि नै विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकारी विष्णु प्रसाद तिवारी, नेपाल रेडक्रस सोसाईटी पर्वतका अध्यक्ष तथा पूर्व प्रअ रुद्र बहादुर रिमाल, विद्यालयका प्रअ नरनाथ रिमाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण पेश गरिएको थियो । सोही अवसरमा विद्यालयको संस्थागत विकासका लागि योगदान दिने ८ विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानितहरुलाई कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सम्मान पत्र प्रदान गर्नुभयो । यससँगै विद्यालयमा रहेका विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयले प्राविधिक धारतर्फको परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने विद्यार्थी याम माया पुनलाई नगद रु ६ हजार र ट्रफी प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सम्भबी अधिकारी र विद्यार्थी प्रमिला क्षेत्रीले र संचालन शिक्षक राजकुमार गौतमले गर्नुभएको थियो । पर्वतको एकमात्र प्राविधिक धारमा अध्यायन हुने यस विद्यालयमा कृषि जेटिए र भेटेरीनरी जेटीएको पढाई हुँदै आएको छ ।