प्रमुख समाचार

पर्वतको ठुलीपोखरीका सगरमाथा आरोहि लक्ष्मणलाई जन्मगाउँमा भव्य स्वागत

By लोकतन्त्र अनलाईन

June 01, 2019

पर्वत–विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका यहाँका एक युवालाई जन्मगाउँमा भव्य स्वागत गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका युवा लक्ष्मण सापकोटालाई आरोहणबाट फर्केर गाउँमा पुग्दा गाउँलेहरुले शुक्रवार भव्य स्वागत गरेका हुन् । परिवार, आफन्तजन, शिक्षक, विद्यार्थी लगायतले दोसल्ला, फुल माला सहित अविरजात्रा गरेर भव्य स्वागत गरेका थिए । सापकोटाले जेठ ९ गते विहीवार सगरमाथाको सफल आरोहण गर्नुभएको हो । सगरमाथा आरोहण गर्ने जिल्लाकै पहिलो व्यक्ति समेत बनेका सापकोटाले आफ्नो गाउँसँगै समग्र जिल्लाको नाम चिनाउन सफल भएको भन्दै स्वागत तथा सम्मान गरिएको स्थानीय त्रिभुवन सापकोटाले जानकारी दिनुभयो । सापकोटा दिउँसो जन्मगाउँ पुगेका थिए । सापकोटाले एशियन टे«किङ एजेन्सी मार्फत आरोहणका लागि जानुभएको हो । उहाँ गत चैत २२ गते काठमाण्डौबाट वेसक्याम्प तर्फ जानुभएको थियो । झण्डै दुई महिनाको अवधिसम्म विभिन्न तालिम तथा अभ्यासहरु गरेपछि जेठ ९ गते विहान सवा ५ बजे चुचुरोमा पुग्न सफल भएको बताउनुभयो । विश्वकै अग्लो सगरमाथाको उचाईमा पुग्ने आफ्नो सानैदेखिको इच्छा र चाहना ३० वर्षको उमेरमा आएर पुरा भएको उहाँको प्रतिकृया रहेको छ । अत्याधिक चिसो हुने भएका कारण १५ मिनेट मात्रै चुचुरोमा बसेर तल झरेको उहाँले बताउनुभयो । सापकोटाले यस अघि सन् २०१७ मा पनि सगरमाथा आरोहणका लागि प्रयास गरेको भएपनि सफल हुन नसकेको बताउँदै यस पटक आफ्नो अठोट पुरा भएको बताउनुभयो । नेपालमा सवैभन्दा बढि पर्यटन ब्यावसायलाई नै प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । विश्वकै अग्लो सगरमाथाको पहिचानलाई विश्व सामु पु¥याउन सकेमा मुलुकमा छिटै समृद्धि हुने उहाँको अनुभव रहेको छ ।