अन्तर्राष्ट्रिय

जापानमा नयाँ सम्राटले गद्दी सम्हाले

By लोकतन्त्र अनलाईन

May 01, 2019

एजेन्सी  |  जापानले नयाँ सम्राट पाएको छ। सम्राट अकिहितोले मंगलबार औपचारिक रूपमा गद्दी त्यागेपछि युवराज नारुहितोले बुधबार गद्दी सम्हालेका हुन्।  नारुहितो जापानको १२६औँ सम्राट बनेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ वर्षको उमेरमा जापानको युवराज बनेका थिए।  जापानको २०० वर्षे इतिहासमा उनी जीवित छँदै गद्दीत्याग गर्ने पहिलो सम्राट बनेका छन्। जापानमा सम्राटले आफू बाँचुञ्जेल गद्दीत्याग्न नपाइने परम्परा र कानुन छ। तर अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए। सन् २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन्। सम्राट अकिहितोले गद्दीत्यागका लागि गरेको आग्रहले हालै स्वीकृति पाएको थियो। राष्ट्रप्रमुखको भूमिका रहेको जापानमा सम्राटको कुनै राजनीतिक भूमिका भने छैन। नयाँ राजा आएसँगै नयाँ युगको सुरुवात हुने जापानी परम्परा रहेको छ। यो युगलाई रेइवा नाम दिइएको छ।