पर्वत– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखि अमेरिकाको शिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा शुभकामना प्रदान गर्नुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले श्रम कुनै बस्तु वा बिक्रि वितरणको साधन नभएको उहाँको भनाई छ । मजदुरहरुको आन्दोलनले विभिन्न आरोह अबरोह पार गर्दै कामको छनौट गर्ने अधिकार, उत्पादनमुलक रोजगारीको अवसर, बिना भेदभाव समान कामका लागि समान पारिश्रमिकको अधिकार, सुरक्षित र स्वस्थ कामका अवस्थाहरु, विश्राम तथा कार्यघण्टाको उचित सीमा एवं तलबी बिदाको अधिकार, ट्रेड युनियन खोल्ने र सम्मिलित हुन पाउने अधिकार, सामुहिक सौदावाजी तथा सामाजिक बिमा र सामाजिक सुरक्षा जस्ता अधिकारहरु स्थापित भएको उहाँको भनाई छ । शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको योगदानको उच्च मुल्यांकन तथा सम्मान गर्दै राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि रोजगारी र श्रम सम्बन्धी अधिकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले सम्पूर्ण श्रमिकहरुले राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न तथा आफ्नो हक–अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको छ ।