काठमाडौं– बारा र पर्साका जिल्लामा हिजो साँझ एक्कासी आएको ठूलो हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय प्रशासनले जानकारी दिएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए । प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् ।प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएका छन् । गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचापर निशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ ।बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ । अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएका कारण भुइमै राखेर उपचार थालिएको छ ।