प्रमुख समाचार

पर्वतको गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना, मन्त्री लम्सालद्धारा उद्घाटन

By लोकतन्त्र अनलाईन

September 01, 2019

पर्वत– पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना गरिएको हो । गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय विकास संस्थाले ध्यान केन्द्र स्थापना गरेको अध्यक्ष मानकुमारी गिरीले जानकारी दिईन । विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई आफ्नो काम व्यवाहारबाट उन्मुक्ति लिनका लागि पनि यस केन्द्रमा आएर योग गर्न सकिने उनले बताईन । गुफामा पुजा आजा गर्न आउने भक्तजन तथा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त ध्यान केन्द्र स्थापना गरिएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाको सहयोगमा केन्द्र संचालनमा ल्याईएको अध्यक्ष गिरीले बताईन । सुविधासम्पन्न उक्त केन्द्रमा अब लगत्तै विहान, दिउँसो तथा साँझ गरी योग संचालन गरिने उनले बताईन । यसैबीच उक्त ध्यान केन्द्रको शनिवार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका छन् । उनले गुफामा आउने आन्तरिक तथा बाह्य पर्यटक वा भक्तजनका लागि यो ध्यान केन्द्र आकर्षणको माध्यम बन्ने बताए । शहरी कोलाहाल वातावरण, विभिन्न पेशा व्यावसायको तनाव व्यवस्थापनका लागि यो केन्द्र महत्वपुर्ण हुने बताउँदै यसले आन्तरिक तथा बाह्य पर्यटक समेत बृद्धि गर्ने बताए ।

मन्त्री लम्सालले सरकार पर्यटनबाटनै मुलुकको समृद्धि हासिल गर्नेगरी अघि बढेको बताउँदै सन् २०१५ मा १५ लाख र सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउनेगरी तयारी थालिएको बताए । उनले अहिले पूर्वाधार विकासलाई जोड दिईएको बताए । कार्यक्रमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले नेपालकै नमुना गुफा भएपनि आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताउँदै यसको प्रवद्र्धनका लागि तीनै तहका सरकारको ध्यान जान आवश्यक भएको बताए । कार्यक्रममा नेकपाका नेता मेघनाथ सुवेदी, कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्य, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, गण्डकी प्रदेश भ्रमण वर्ष जिल्ला समन्वय उपसमितिका सदस्य पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो । सो अवसरमा मन्त्री लम्साललाई गुफाको विकासका लागि ध्यानाकर्षण समेत गराईएको थियो । संस्थाका अध्यक्ष मानकुमारी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागच उपाध्यक्ष गणेशबहादुर खत्री र संचालन सचिब प्रनिश गिरीले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य कोषाध्यक्ष विपिन गुरुङले राख्नुभएको थियो ।