पत्र-पत्रिका

चिसो बढेपछि विद्यार्थीलाई घाम तपाउन पर्वतका विद्यालयमा चौरमै पढाइ

By लोकतन्त्र अनलाईन

December 31, 2018

पर्वत — तराईतिर देखिने तुवाँलो अहिले पहाड छिरेको छ । बिहान ११ बजेसम्म सूर्यको किरण देख्नै पाइन्न । बिहान पानी छुनै सकिन्न ।

केही सातायता चिसो ह्वात्तै बढेपछि किसान, कर्मचारी, व्यापारी, मजदुर सबैलाई असर परेको छ । त्यस भन्दा धेरै असर विद्यालयमा परेको देखिएको छ । हिमाली जिल्लामा भने पुस र माघसम्म जाडो बिदा हुन्छ । पहाडमा वर्षे बिदाका कारण जाडो बिदा गर्न पाइँदैन । जाडो अत्यधिक बढेपछि यहाँका धेरैजसो विद्यालयले खुल्ला चौरलाई कक्षाकोठा बनाउने गरेका छन् । लेकाली बस्तीका कतिपय विद्यालयमा त चिसोका कारण विद्यार्थीहरू विद्यालय आउनै सक्दैनन् । पुस महिना सुरु भएयता बेंसीका विद्यालयमा समेत चिसोका कारण विद्यार्थीको संख्या घटेको छ । ‘ससानो कक्षाका विद्यार्थीलाई विद्यालयमा ल्याउनै मुस्किल छ,’ फलेवास–४ मुडिकुवास्थित माटेदेवल माविका प्रधानाध्यापक रामप्रसाद रिजालले भने, ‘कक्षाकोठामा पढाउनै नसकिएपछि चौरमा कक्षा सारिएको हो ।’ माटेदेवलले सबैजसो कक्षा बाहिर खुल्ला चौरमा विद्यार्थी राखेर पढाउँदै आएको छ । बिहान अबेरसम्म घाम नपर्ने र घाम परे पनि कक्षाकोठाभित्र बस्दा भित्रको चिसोले लेखपढ गर्न नसकेपछि कक्षा बाहिर सारिएको विद्यालयले जनाएको छ । जिल्लाकै सार्वजनिक मावि, जननेत्र मावि, हिमालय मावि, त्रिभुवन मावि, शारदा मावि लगायत सबैजसो विद्यालयले कक्षाकोठाभित्र पढाउनै सकेका छैनन् । कतिपय विद्यालयमा त दिनभर घाम नपरेपछि घाम खोज्दै खेतको गरो र बारीका डिल चाहार्नुपरेको शिक्षकहरूले बताएका छन् । ‘मंसिरदेखि फागुनसम्म स्कुल आसपासमा घाम पर्दैन, ‘फलेवास–३ स्थित जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापाले भने, ‘चिसो बढेपछि आधा विद्यार्थी पनि आएका छैनन् । कक्षामा आउनेले पनि कठ्यांग्रिएर लेखपढ गर्नै सक्दैनन् ।’ हिउँदका केही महिना करिब ५ मिनेट टाढा पुगेर खेतका डिलमा राखेर पढाउनुपर्ने उनले बताए । चिसो अत्यधिक बढेपछि कुनै दिन विद्यालयमा आगो ताप्ने व्यवस्था समेत मिलाउने गरेको प्रअ थापाले बताए । चिसोका कारण समयमा विद्यालय पुग्न नसकिएको विद्यार्थीले बताएका छन् । विद्यालयमा शिक्षकहरूले दिएको गृहकार्य समयमा गर्न र बिहान विद्यालय समयमा पुग्न समेत समस्या भएको माटेदेवल माध्यमिक विद्यालयमा अध्ययनरत सविता शर्माले बताइन् । ‘बेलुका घर पुग्दा झमक्कै साँझ पर्छ,’ उनले भनिन्, ‘बिहान चिसोले उठ्नै सकिन्न । होमवर्क कतिबेला गर्नु ?’ समयमा विद्यालय पुग्न र तोकिएको गृहकार्य गर्न नसकेपछि कतिपय विद्यालयहरूमा विद्यार्थीले जाडो बिदाको माग समेत गर्नेगरेका छन् । बिहादी–४ स्थित नेपालतारा माविका विद्यार्थीहरूले गत पुसको पहिलो सातादेखि जाडो बिदा हुनुपर्ने माग गरेका थिए । त्यस्तै महाशिला–५ को महेत्द्रज्योति माविमा पनि विद्यार्थीहरूले केही समय जाडो बिदाको माग गरेको व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर हमालले बताए । तर, पहाडका विद्यालयहरूमा वर्षे बिदा हुने भएकाले हिउँदमा जाडो बिदा गर्न नमिल्ने विद्यालयहरूले जनाएका छन् । यो वर्ष लामो समय वर्षा नहुँदा मौसम बढी चिसिएको बुढापाकाहरू बताउँछन् । गत भदौदेखि करिब पाँच महिना वर्षा नहुँदा जाडो बढेको गुरुदत्त भुसालले बताए । ‘पहिलापहिला कात्तिक–मंसिरमा पनि पानी पथ्र्यो । ७ दिनसम्म पुसे झरी लागेपछि आकाश खुल्थ्यो,’ उनले भने, ‘अहिले ४–५ महिना पानी परेको छैन । आकाश धुम्मिएर जमिनै तात्दैन ।’ जानकारहरूका अनुसार पनि यो वर्ष पहाडी क्षेत्रमा चिसो बढेको छ । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार अघिल्ला वर्षको तुलनामा यो वर्ष चिसो बढेका कारण हिउँदे बाली, फलफूल र तरकारीमा समेत नकारात्मक असर पुगेको छ ।

कान्तिपुर दैनिबाट साभार