अर्थ/बाणिज्य

कालीगण्डकी लोकमार्गका पुल निर्माण तीब्र

By लोकतन्त्र अनलाईन

December 31, 2018

पर्वत – निर्माण सुरु गरेर बीचैमा लामो समय अलपत्र छाडिएका कालीगण्डकी लोकमार्गका पुलमा पुन: काम सुरु भएको छ ।

राष्ट्रिय प्राथमिकताप्राप्त कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा निर्माणाधिन दुई पुलमा काम थालिएका हुन् । पर्वतको कुश्मा–५ को मोदीखोला र फलेवास नगरपालिका–१० कुर्घाको लमायखोलाको पुल निर्माण कार्य पुन: सुरु भएको हो । मोदीखोलामा काम गर्न ठेकेदार कम्पनीले गत सोमबारदेखि निर्माण सामाग्री र उपकरणहरू कार्यस्थलमा पठाएको छ । यस्तै लमायखोलाको पुल बनाउन ठेकेदार कम्पनीले नयाँ प्रक्रिया सुरु गरेको जनाएको छ । ६० मिटर लम्बाइको मोदीखोलाको पुल ९ करोड १४ लाखमा मुक्तिनाथ कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । २५ मिटर लम्बाइको लमायखोला पुल ५ करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएका थिए । ०७४ मंसिरमा निर्माण सुरु गरेर मोदीखोलाको पुलको एकातर्फको पिलर र बीचको पिलर निर्माण हुँदाहुँदै ठेकेदार कम्पनीले काम छाडेको थियो । लमायखोलाको पुल गत वर्ष नै निर्माण सुरु गर्ने सहमति भएको थियो । स्थानीयका अनुसार लमायको ठेक्का लिएको नयाँ बाटो गौचन जेभीले पेटी ठेकेदारलाई जिम्मा लगाएको थियो । कुर्घातर्फ पिल्लर खन्ने क्रममा कडा चट्टान परेपछि पेटी ठेकेदार काम गर्न नसक्ने भन्दै सम्पर्कविहीन भएपछि निर्माण रोकिएको थियो । पुलको निर्माणकार्य लामो समय रोकिएपछि यहाँका सांसद पदम गिरीले ठेकेदारलाई फिल्डमै डाकेर काम छिटो थाल्न निर्देशन दिएका थिए । लोकमार्ग आयोजना कार्यालयका अनुसार लमायको पुलको एकातर्फ कडा चट्टान परेका कारण सुरुको सर्वेमा आधारित डिजाइन परिवर्तन गर्नुपरेको थियो । ‘पहिलाको डिजाइन फेल भएछ,’ इन्जिनियर अर्जुन नेपालीले भने, ‘पछि नयाँ ढंगबाट काम गर्ने गरी सहमति भएर काम सुरु गर्न दबाब दिएका छौं ।’ आयोजनाको पर्वत खण्डको जिम्मा लिएका प्राविधिक छिटोछिटो हेरफेर भइरहँदा ठेकेदार कम्पनीलाई समयमै काम सक्न दबाब पुग्न नसकेको सरोकारवाला बताउँछन् । मोदीको पुल निर्माणको जिम्मा लिएको मुक्तिनाथ कन्स्ट्रक्सनका सञ्चालक ओम गौचनले काम अलपत्र छोडेर बेपत्ता नभएको दाबी गरे । ‘हामी बेपत्ता भएका हैनौं,’ उनले भने, ‘मोदीमा पानीको सतह बढेका कारण केही समय काम रोकिएको मात्रै हो । अब नियमित हुन्छ ।’ मोदीखोलामा पुल डिजाइन गर्दा प्राविधिक त्रुटि भएका कारण पनि समयमै काम सक्न समस्या भएको उनले बताए । लोकमार्ग आयोजना कार्यालयले मोदीवेणीका नरसिंह मन्दिर लगायत ऐतिहासिक धार्मिक संरचना बिग्रने गरी डिजाइन गरेपछि सरोकारवाला आन्दोलित भएका थिए । मोदीवेणीका सरोकारवालाको दबाबपछि पुल करिब १०० मिटर माथि सारिएको थियो । निर्माण रोकिएका दुवै पुल सुचारु भएपछि फलेवास र कुश्माका सरोकारवालाले अब समयमै सक्न दबाब दिनुपर्ने बताएका छन् । कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय सरकारलाई समेत असर पर्ने भएकाले दबाब दिनुपर्ने बताए । उनले कुश्मा र समग्र पर्वतको विकासको मेरुदण्डका रूपमा रहेको यो लोकमार्ग समयमै सक्न हरेक क्षेत्रबाट नजर लगाउन आवश्यक भएको बताए । कालीगण्डकी करिडोरकै बजेट र सोही बमोजिमको प्राथमिकता प्राप्त यो सडक अन्तर्गत पर्वतको कुश्मादेखि स्याङ्जाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउने तथा स्तरवृद्धिको काम अघिल्लो वर्षदेखि तीव्र रूपमा अघि बढेको थियो । स्याङ्जाको आँधीमुहानदेखि पर्वत र बागलुङको मालढुंगासम्म करिडोरको दाहिने पारेर रेखांकन गरिएको यो सडकबाट पर्वत, स्याङ्जा, गुल्मी र बागलुङ बढी प्रभावित हुन्छन् । तर, यो करिडोरकै शाखा सडक हो । ०६४ पहिलासम्म यो नै करिडोरको मुख्य सडकको रेखा थियो । राजनीतिक दबाबका कारण करिडोरले कालीगण्डकीलाई दाहिने पारेपछि यो सडक उपेक्षामा थियो । पुरानै रेखांकन भइसकेकाले पछि स्थानीय नेताहरूको दबाबमा प्राथमिकता पाएको हो । करिडोर बागलुङ हुँदै अघि बढेपछि ओझेलमा परेको यो सडकले ३ वर्षयता गति लिएको हो । लोकमार्गका दुई पुल अलपत्रपरेकोबारे गत बुधबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएलगत्तै सरोकारवालाले चासो देखाएपछि काम सुचारु भएको हो ।

कान्तिपुर दैनिकबाट