प्रमुख समाचार

पुस १३ गते थापाठानामा घुम्ती शिविर संचालन गर्दै पर्वत प्रशासन

By लोकतन्त्र अनलाईन

December 26, 2018

पर्वत– नागरिकताको प्रमाणपत्र लिन असहज भएकाहरुको लागि शिविर चलाएर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले फलेवास नागरपालिकामा पनि शिविर संचालन गर्ने भएको छ । अपांगता भएकाहरु तथा बृद्ध अवस्थामा रहेकाहरुलाई नागरिकता लिनकै सदरमुकाम कुश्मा सम्म आउन पनि असहज भएको हुन सक्ने भन्दै फलेवास नगरपालिका २ थापाठानामा शिविर राख्न लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुष १३ गते एक दिनका लागि थापाठाना, कार्कीनेटा, भंगरा र शंकरपोखरीका नागरिकहरुलाई लक्षित गरेर शिविर राख्न लागिएको हो । शिविरमा नागरिकताको प्रमाण पत्र प्रदान गर्नु सहित प्रशासनबाट दिईने सेवाहरु नागरिकताको प्रतिलिपि, पेन्सन सिफारिस, दलित र जनजाति प्रमाणित गर्ने काम पनि गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । यसैगरी, सोही शिविरमा जिल्ला निर्वाचन कार्यालय पर्वतबाट पनि टोली खटीने भएको छ । निर्वाचन कार्यालयको टोलीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता नगराएका तथा नयाँ नागरिकता लिनेहरुको पनि फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गराउने छ ।