प्रमुख समाचार

बडागाउँ–मोदीबेणी सडक स्तरोन्नतिको काम शुरु, कालोपत्रे गर्ने तयारी

By लोकतन्त्र अनलाईन

December 22, 2018

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्न थालिएको छ । ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडक चक्ल्याउने र नाली निर्माण गर्ने काम शुरु भएको हो । सडक अभावकै कारण मोदीवेणी दिब्यधाममा जानआउन र उक्त स्थानको भौतिक पूर्वाधार निर्माणमा समेत समस्या परिरहेका बेला सडक स्तरोन्नतीको काम शुरु भएपछि दिव्यधाममा जानआउनका लागि समेत सहज हुने भएको छ । पर्वत जिल्लाको मुख्य शब दाहसंस्कार गर्ने घाटका रुपमा रहेको मोदीवेणीमा दैनिक मलामीहरु जान आउन समेत सहज हुने भएको छ । एक सातादेखि स्तरोन्नतिको काम शुरु भएको हो । कालीगंगा निर्माण सेवाले बाटो चक्ल्याउने र नाली निर्माणको काम अघि बढाएको छ । झण्डै डेढ किलोमिटर लामो उक्र सडक इस्टिमेट अनुसार चक्ल्याउने काम करिब पुरा भएको र केहि ठाउँमा चट्टान काट्नुपर्ने भएकाले ब्रेकर लगाउने तयारी भएको निर्माण समितिले जनाएको छ । सडक निर्माण समितिका उपाध्यक्ष कमल भुसालका अनुसार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बिनीयोजन भएको रु ५० लाख रुपैयाले स्तरोन्नतीको काम शुरु गरिएको हो । उक्त सडकलाई कालोपत्रे र ढकाल गर्ने तयारीका साथ काम अघि बढाईएको भुसालले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पुनः प्रदेश सरकारबाट बजेट बिनीयोजनका लागि पहल भैरहेको र पुरै सडक कालोपत्रे गरिने जानकारी दिए । उक्त सडक निर्माण सम्पन्न भएपछि निर्माणाधिन कालीगण्डकी लोकमार्गसँग सदरमुकाम कुश्माबजार प्रत्यक्ष रुपमा जोडिने भएको छ । लोकमार्ग अन्तर्गत मोदीखोलामा निर्माणाधिन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने भएको छ । पुलको निर्माणकार्य धमाधम भैरहेको छ । हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको कालीगण्डकी लोकमार्ग आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा स्तरोन्नति र नाली निर्माणको काम सम्पन्न गर्ने र अर्को आर्थिक वर्षमा कालोपत्र र आवश्यक ठाउँमा ढलान गरेर पुर्ण रुपमा सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाईएको सडक निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिए । सडक कालोपत्रे सहितको योजना स्टिमेटको कामपनि पूर्वाधार कार्यालय पर्वतले गरिरहेको छ । सदरमुकामसँगै जोडिएको सडक भएपनि लामो समयदेखि अलपत्र जस्तै बनेको थियो, प्रदेश सरकारले बजेट बिनीयोजन गरेपछि गति लिएको छ उनले भने–‘सडक बनेपछि मोदीवेणी क्षेत्रको प्रवद्र्धन पनि हुनुका साथै कालीगण्डकी लोकमार्ग कुश्मासँग जोडिएपछि कुश्माबजारको व्यापार व्यावसाय प्रवद्र्धनमा पनि टेवा पुग्ने छ ।’

कालीगण्डकी लोकमार्गको ट्रयाक मोदीवेणीदेखि अर्मादीसम्म खोल्न बाँकी रहेका बेला उक्त सडकनै बैकल्पिक मार्गको रुपमा प्रयोग हुनेभएकाले पनि प्रदेश सरकारले उच्च प्राथमिकतामा पारेको बताईएको छ ।