प्रमुख समाचार

कांग्रेस महासमिति बैठकमा ताण्डब नृत्य, माइक खोसाखोस, बैठक स्थगित

By लोकतन्त्र अनलाईन

December 18, 2018

काठमाडौँ — नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार बिहान केहीबेर हंगामा भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि केहीबेर घम्साघम्सीकाे स्थिति सृजना भएको हो ।

जिल्ला सभापतिहरुले राखेको अडानलाई वेवास्ता गर्दै पार्टी सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला गरेका थिए। जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि देउवाले हतारहतार बैठक स्थगित गर्नु पर्‍यो। बैठक स्थगित भएको घोषणा गरेपछि मञ्चमा चढेका जिल्ला सभापतिहरुले आ-आफ्नो कुरा सुनाइरहँदा नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीको माइक प्रकाशसरण महतले खोसे। महतले माइक खोसे लगत्तै त्यहाँ हात हालाहालको स्थिति उत्पन्न भएको थियो। महासमिति बैठकमा घम्साघम्सी परेपछि सभापति देउवासहितका नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएर विधान मस्यौदा माथि छलफल गरिरहेका छन्।