प्रमुख समाचार

यस्तो छ हामिले निर्वाचित गरेका सांसदको हालत, अर्थ र कृषि समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित

By लोकतन्त्र अनलाईन

December 11, 2018

रकाठमाडौं, मंसिर २५

मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ।

अर्थ समितिका अधिकांश सांसदहरूको अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

साढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो। सांसदहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

संयुक्त बैठकका लागि मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स खरिद विक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो।

भारतीय कम्पनी जिएमआरले सो जलविद्युत आयोजनाको लाइसेन्स विक्री गरेपछि तत्सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो।

लाइसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको पनि अर्थ समितिका सभापति दाहालले बताए।

अर्थ समितिले सो सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ।

संयुक्त बैठक बस्ने अवस्था नभए उपसमिति बनाएर भए पनि सो लाइसेन्स खरिद सम्बन्धमा आवश्यक छानबिनको कामलाई अघि बढाउने योजना रहेको अर्थ समितिका सभापति दाहालले बताए।