नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडीबाट दक्षिण कोरिया उडान गर्ने योजनामा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण नै बाधक बनेको छ । प्राधिरकरणले सहयोग नगर्दा कोरिया उडान अनुमतिमा झनै ढिला हुने देखिएको छ ।
कोरियाली पक्षले निगमको ‘सेफ्टी अडिट’ गरेरमात्र उडान अनुमति दिने भने पनि प्राधिकरणको असहयोगका कारण हालसम्म पनि अडिट हुन नसकेको पाइएको छ । निगमले कोरियासहित जापान, चीन लगायतका मुलुकमा उडानका लागि खरिद गरेको दुई थान एयरवस ३३० वाइडबडी सिरिजका जहाज अहिले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।

दक्षिण कोरियाले भदौ १८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै नेपालमा सेफ्टी अडिटको लागि समय मागेको थियो । उक्त पत्र मन्त्रालयले प्राधिकरणलाई पठाएको थियो । तर, तीन महिनासम्म पनि प्राधिकरणले जवाफ दिनुको सट्टा निगम अहिले नै अडिटका लागि तयार नभएको जवाफ दिएको थियो । सोही जवाफ पाएको कोरियन प्राधिकरण अहिलेसम्म पनि नेपालको पत्रको पर्खाइमा छ । नेपालले भने कुनै पनि जवाफ दिएको छैन ।

निगमले व्यावसायिक हिसावले संसारकै ठूलो मानिएको इनचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमतिका लागि अनुमति मागेको हो । यसपछि कोरियाका तर्फबाट फ्लाइट स्ट्यान्डर्ड विभागका सहायक निर्देशक चो दोङयान नेतृत्वमा तीन सदस्यीय टोलीको नामसमेत नेपाल सरकारलाई पठाएर सेफ्टी अडिटको समय मागेको थियो । प्राधिकरणले जवाफ नदिँदा यससम्बन्धी प्रक्रिया अघि बढ्न सकेको छैन । तर केही दिनअघि संसदको सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा भने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले छिट्टै कोरियन टोली निगमको अडिटका लागि आउन लागेको बताए पनि यसको अझै टुंगो लागेको छैन ।
नेपालका सबै एयरलाइन्स कम्पनीलाई युरोपियन युनियनले कालोसूचीमा सन् २०१३ देखि नै राख्दै आएको छ । सोही कारणलले कोरियाले आफैं अडिट गरेपछि मात्रै उडान अनुमति दिने निगमलाई जवाफ दिँदै आएको छ । प्राधिकरण स्रोतका अनुसार इयूको समीक्षापछि नयाँ सूची सार्वजनिक गर्ने र सोहीअनुसार पत्र पठाउने तयारी छ । सोही सूचीमा नेपाल कालोसूचीबाट हट्छ कि भन्ने प्राधिकरण नेतृत्वलाई आशा लागेका कारण निगमको अडिटमा कोरियाली टोली बोलाउन ढिलाई गरेको स्रोतको दाबी छ । तर, गत बिहीबार ईयूले सार्वजनिक गरेको सूचीमा नेपालका सवै एयरलाइन्स कम्पनीलाई प्रतिबन्धमा निरन्तरता दिइएको छ । ईयूले बिहीबार सार्वजनिक गरेको सूचीमा सवै जहाज र हेलिकप्टर कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध जारी छ ।
वाइडबडी जहाजमार्फत जापान, कोरिया, साउदी अरब, चीन उडान गर्ने योजना निगमको थियो । जापानको ओसाकामा उडान अनुमति पाइसकेकोले पे्रmब्रुवरी महिनासम्ममा उडान हुने दावी निगमले गर्दै आएको छ । मन्त्री रवीन्द्र अधिकारीले भने मार्चबाट चीनमा उडान हुने बताउँदै आएका छन् । कोरियाको विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय हुन सकेको छैन ।