झन् अन्योलग्रस्त बन्दै सार्क संगठन - News site from Nepal
झन् अन्योलग्रस्त बन्दै सार्क संगठन

काठमाडौं, मंसिर १५ । तीन महिनाअघि काठमाडौंमा बिम्स्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक वृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने देखिएको छ ।

त्यसताकाको चर्चा हो, भारतले पाकिस्तानलाई उपेक्षा गरेर बिम्स्टेक संगठन बलियो बनाउनसक्छ । यसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व नै खतरामा पर्नसक्छ ।

आखिर भारत र पाकिस्तानको यो पछिल्लो सन्देशले त्यो सम्भावनालाई सत्यतर्फ धकेल्ने देखिएको छ । पाकिस्तानको पछिल्लो अनुरोधलाई भारतले पुनः अस्वीकार गरेपछि यस्तो अवस्था देखिन थालेको हो ।

यसरी दुई वर्षयतादेखि अन्योल रही आएको सार्कको १९औं शखिर सम्मेलन झनै अनिश्चित बन्दै गएको छ ।

सन् २०१६ को नोभेम्बर १५–१६ मा आयोजना गर्नेगरी सार्कको १९औं शिखर सम्मेलनको मिति तय भएको थियो ।

तर, लगभग सबै तयारी पूरा भएको जानकारी आयोजक राष्ट्र पाकिस्तानले गराएको केही दिनमै भारतले आफू नजाने बतायो र सम्मेलन स्थगनको अर्काे सूचना आयो । त्यसपछि भने सम्मेलनको वातावरण अझै बन्नसकेको छैन ।

यसका लागि पहल गरिदिन आयोजक राष्ट्र पाकिस्तानले अध्यक्ष देश नेपाललगायत अन्य सदस्य मुलुकसँग आग्रह गर्दै आएको छ । तर, यसको निकासकोे बाटो कतैबाट निस्किएको छैन ।

आपसी अविश्वास हुँदाहुँदै पनि एकै मन्चमा जम्मा हुनुपर्ने बाध्यतामा रहेका दक्षिण एसियाका दुई ठूला राष्ट्र भारत र पाकिस्तानका कारण नै सार्कमा बढी समस्या उत्पन्न हुने गरेको छ ।

सन् २०१४ को नोभेम्बर महिनामा नेपालमा सम्पन्न १८औं शिखर सम्मेलनले सार्कको बडापत्रमा संशोधन गरी यसको शिखर सम्मेलन प्रत्येक दुई वर्ष र आवश्यकता परेमा त्योभन्दा चाँडो आयोजना गर्नसकिने प्रावधान राखेको छ ।

तर, सदस्य राष्ट्रहरूकै विवादका कारण शिखर बैठक नै समयमा सम्पन्न हुनसकेको छैन

१८औं सम्मेलनले संशोधन गर्नुअघि त सार्क सम्मेलन अझ हरेक वर्ष गर्ने प्रावधान थियो ।

यसरी हेर्दा यो संगठनको शिखर बैठक कम्तीमा पनि ३० ओटासम्म हुनुपर्ने हो । १८औंपछि अन्योलमा छ ।

गत बुधबार भारतीय राजधानी नयाँदिल्लीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानले आयोजना गर्ने सम्मेलनमा भारत सहभागी नहुने औपचारिक जानकारी गराएकी छन् ।

उनले पाकिस्तानको विदेश मन्त्रालयले आगामी १९औं शिखर सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको जानकारी दिँदै तर सो सम्मेलनमा भारत नजाने निर्णय गरिसकेको बताइन् ।

कुनै एक सदस्य राष्ट्रमात्र सहभागी नहुँदा सार्कको सम्मेलन हुँदैन । सार्कको १९औं शिखर सम्मेलनको आयोजक राष्ट्र पाकिस्तान हो । त्यसैले भारत अनुपस्थित हुने अडानमा छ ।

सार्कलाई छाडेर भारतले बिम्स्टेकको सम्मेलन हतार–हतार आयोजना गर्न लगाउनुसँग के सम्बन्ध छ ? भन्ने अनुमान कूटनीतिक वृत्तले सहजै गरेको थियो ।

अहिले सार्क सम्मेलनको आमन्त्रण पुनः भारतले अस्वीकार गरेबाट सार्क पछि धकेलिएको त छँदै नै छ र यसका कारण आगामी दिनमा पाकिस्तान सदस्य नरहेको बिम्स्टेकलाई सार्कको वैकल्पिक संगठनकारुपमा विकास गर्नसकिने सम्भावनाबारे पनि त्यति नै चर्चा गर्ने गरिएको छ ।

अहिले २०औं सम्मेलन पनि सकिइसक्ने बेलामा चार वर्षअघि नै तय भएर दुई वर्षअघि सम्पन्न भइसक्नुपर्ने १९औं सम्मेलन अनिश्चित बन्दै गएपछि यसले सार्कको सम्मेलनमात्र होइन कि संगठनकै अस्तित्वमाथि नै प्रश्न उठाइदिएको छ ।

सार्क यतिखेर आफ्नो स्थापनाको ३४औं वार्षिकोत्सवको तयारीमा छ । आगामी हप्ता यसको वार्षिकोत्सव मनाइँदैछ ।

यसरी हेर्दा त बडापत्रअनुसार सरासर भइदिएको भए सार्कका ३० भन्दा बढी शिखर बैठक भइसक्नुपर्दथ्यो । तर, अहिलेसम्म १८ मात्र भए ।

चार वर्षअघि नेपालमा सम्पन्न पछिल्लो अर्थात् १८औं शिखर सम्मेलनपछि यसको भविष्यसमेत अन्योलमा परेको छ । यसको काम र अरू प्रभावकारिताको त कुरै भएन ।

दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा एवं गरिबी हटाइ यस क्षेत्रका नागरिकमा सामूहिक आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले सन् १९८५ को डिसेम्बर ८ मा सार्कको स्थापना भएको हो ।

यस क्षेत्रका सात राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स संस्थापक रहेको यस संगठनमा पछि यसै क्षेत्रको अर्को देश अफगानिस्तान पनि सदस्य बनेको छ ।

दक्षिण एसियाली नागरिकको आशाको केन्द्रकारूपमा स्थापित यस संगठनले लिएको उद्देश्य र अपेक्षा तीन दशकको उमेर पुगिसक्दा कति पूरा गर्नसक्यो भन्ने विषय महत्वपूर्ण हो । तरपनि यसले लिएको कार्यदिशा र नेतृत्वको कार्यकुशलताको अभावका कारण आज यसको उपलब्धिको चर्चा गर्नुको सट्टा यसले बैठक नै गर्न नसकेकोबारेमा चर्चा गर्नुपर्ने अवस्था छ ।

यस्तै अविश्वासकैबीच यसले तीन दशकको फन्को भने लगाइसकेको छ ।

क्षेत्रीय तथा सहयोग संगठनको विश्वव्यापी संस्कार र उपलब्धिका तुलनामा यसको प्रभावकारिता खासै छैन । त्यसैले सार्कलाई पहिले एउटा कान्छो र आर्थिक, सामाजिक एवं धेरै कुरामा पछि परेको दक्षिण एसियाली क्षेत्रको संगठनकारूपमा लिने गरिन्थ्यो ।

३० वर्षको अवधिमा यसले एकाध सामाजिक–आर्थिक क्षेत्रका काम भने गरेको छ । सार्कले यस क्षेत्रमा शिक्षा, गरिबी निवारण, स्वास्थ्य, वातावरण, सन्चार, महिला सशक्तिकरण बाल विकासलगायतका धेरै क्षेत्रमा काम गरेको छ ।

तर, यसको अधिकांश उमेर यस्तै विवादबाटै गुज्रन पुगेकाले पनि आफ्नो साथसाथै समग्र दक्षिण एसियाली क्षेत्रकै प्रगति गर्न नसकेको हो ।

सार्क दक्षिण एसियाली क्षेत्रको सामूहिक संगठनका साथै यस क्षेत्रका देशलाई विश्वमन्चमा उपस्थित गराउनका लागि एक साझा मन्च हुनसक्छ ।

यस संगठनमार्फत् दक्षिण एसियाका राष्ट्रहरूले सहकार्य र पारस्परिक सहयोगको एउटा राम्रो अभ्यास गर्न सक्दछन् ।

दक्षिण एसियाका नागरिककाबीचमा जनसम्पर्क स्थापित गर्नका लागि योभन्दा प्रभावकारी अर्काे मन्च अहिलेसम्म छैन ।

त्यस्तै, जनता–जनताबीचको सम्पर्कको दृष्टिकोणले हेर्ने हो भने त यसलाई बिम्स्टेकसँग तुलना गर्न पनि मिल्दैन ।

यस संगठनका दुई ठूला देश भारत–पाकिस्तानबीचको तिक्तताकै कारण १९औं शिखर सम्मेलन अन्योलमा परेको हो ।

भारतको एक सैनिक शिविरमा भएको आतंककारी हमलामा भारतले पाकिस्तानको संलग्नताको आरोप लगाउँदै सम्मेलनमा नजाने भन्यो । भारतको यो निर्णयलाई बंगलादेश, श्रीलंका र अफगानिस्तानले पनि पछ्याए । यसरी पाकिस्तानलाई आफूहरु सम्मेलनमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि सम्मेलन स्थागित भएको थियो ।

यस क्षेत्रको साझा समस्या गरिबी, अशिक्षा र सामाजिक पछौटेपन हुन् । यिनै समस्यालाई सामूहिकरूपमा मिलेर हटाउने उद्देश्य राखेर सार्क जन्मिएको हो ।

अहिले पनि दक्षिण एसियाली भूगोल अफ्रिकापछि धेरै गरिब बस्ने क्षेत्रमा पर्छ । यसको आफ्नै स्रोत छैन । सार्कले आफ्नै सांगठनिक खर्च धान्नलाई पनि वैदेशिक सहयोगको मुख ताक्नुपर्ने स्थिति छ ।

उता, संगठनका सदस्य राष्ट्रबीचका आन्तरिक विवाद शिखर बैठकमै उपस्थित नहुनेसम्मका छन् ।

यस्तो अवस्थामा सामूहिकता र सहकार्यको मान्यता राखेर चल्नुपर्ने संस्था कसरी अघि बढ्नसक्ला ? यही कारणले सार्कको अस्तित्व झन्भन्दा झन् अनिश्चित बन्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!