प्रमुख समाचार

जन्मदिनको अवसरमा फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको टेबल प्रदान .

By लोकतन्त्र अनलाईन

August 27, 2026

रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानस्थित फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको आकर्षक टेबल प्रदान गरिएको छ। देवीस्थान निवासी संजिला मल्ल र रोनिश मल्लले आफ्नो जन्मदिनको अवसर पारेर प्रहरी चौकीलाई एक थान अत्याधुनिक एल–सेफसहितको टेबल सौजन्यस्वरूप प्रदान गर्नुभएको हो। हाल रोजगारीको सिलसिलामा संजिला मल्ल कोरिया र रोनिश मल्ल स्पेनमा रहँदै आउनुभएको बताइएको छ। प्रहरी चौकीको आवश्यकतालाई मध्यनजर गर्दै उहाँहरूकी आमा निलम श्रेष्ठ मल्लको विशेष पहल तथा प्रहरी चौकी फलेवासको साझेदारीमा उक्त सामग्री उपलब्ध गराइएको हो। सामग्री हस्तान्तरणपछि प्रहरी चौकी फलेवासका इन्चार्ज प्रहरी सहायक निरीक्षक उत्तम अर्मजा मगरले जन्मदिनजस्तो विशेष अवसरमा प्रहरी चौकीको आवश्यकता पहिचान गरी उपयोगी सामग्री सहयोग गरेकोमा मल्ल परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले प्रहरीको कार्यसम्पादनलाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउँदै सहयोगी मनहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रहरी चौकी फलेवासको कार्यक्षेत्रमा फलेवास नगरपालिकाका मुडिकुवा, देवीस्थान र कुर्घा गरी तीन वटा वडा रहेका छन्। सीमित जनशक्तिबाट स्थानीयवासीको सुरक्षा, शान्ति–सुव्यवस्था तथा ट्राफिक व्यवस्थापनलगायतका जिम्मेवारी निर्वाह गर्दै आएको उक्त चौकीमा हाल एक जना ट्राफिक प्रहरीसहित जम्मा सात जना प्रहरी कर्मचारी कार्यरत रहेको बताइएको छ। जन्मदिनलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी सार्वजनिक सेवा प्रवाह गर्ने प्रहरी चौकीलाई आवश्यक सामग्री सहयोग गर्ने मल्ल परिवारको पहललाई स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरणका रूपमा लिइएको छ। यस्ता सहयोगले प्रहरी र समुदायबीचको सहकार्य तथा सम्बन्धलाई अझ मजबुत बनाउनसमेत टेवा पुग्ने अपेक्षा गरिएको छ।