रामचन्द्र भुसाल फलेवास – यहि असोज ३ गते संविधान दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाको प्राङ्गणमा दीप प्रज्वलनसँगै सामूहिक भजन प्रस्तुत गरिएको छ। फलेवास नगरपालिकाको आयोजनामा तथा MRR फलेवास भजन समूहको सहजीकरणमा असोज ३ गते आयोजित कार्यक्रममा संविधानको सम्मानसँगै धार्मिक तथा सांस्कृतिक विविधताबीचको एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गरिएको हो। कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय सुवेदी, प्रशासकीय अधिकृत कृष्णराज पौडेल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, समाजसेवी, MRR फलेवासका पदाधिकारी तथा सदस्य, पत्रकार, सुरक्षाकर्मी लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा करिब दुई सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत विनय सुवेदीले संविधान देशको मूल कानुन भएकाले संविधानले सुनिश्चित गरेका अधिकार, कर्तव्य र मूल्य–मान्यताको पालना गर्दै राष्ट्र निर्माणमा सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो। उहाँले संविधान दिवसको अवसरमा आयोजित दीप प्रज्वलन तथा भजन प्रस्तुति केवल औपचारिक कार्यक्रम मात्र नभई आपसी भाइचारा, सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने माध्यम भएको बताउनुभयो। यस्ता सांस्कृतिक गतिविधिले फलेवासका विभिन्न समुदाय र क्षेत्रका नागरिकलाई एउटै ठाउँमा जोड्दै साझा भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। कार्यक्रममा दीप प्रज्वलनपछि MRR फलेवास भजन समूहले सामूहिक रूपमा भजन प्रस्तुत गरेको थियो। संविधान दिवसको राष्ट्रिय भावनासँग स्थानीय मौलिक कला, संस्कृति, आस्था र परम्परालाई जोड्दै प्रस्तुत गरिएको भजनले कार्यक्रमलाई थप भावपूर्ण बनाएको थियो। MRR फलेवासका सदस्य सागर लामिछानेका अनुसार समूहमा फलेवास नगरपालिकाका ११ वटै वडाबाट प्रतिनिधित्व हुने गरी सबैलाई सहभागी गराउने उद्देश्य राखिएको छ। विभिन्न वडाका नागरिकबीच सहकार्य र समन्वय गर्दै सामूहिक भजन प्रस्तुतिका माध्यमबाट कला, संस्कृति र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। फलेवासमा केही समययता सक्रिय रहेको MRR भजन समूहले स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान र प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ। विशेष पर्व तथा दिवसका अवसरमा स्थानीय मठ–मन्दिर, गुम्बा तथा ऐतिहासिक स्थलमा पुगेर भजन प्रस्तुत गर्ने र सामूहिक रूपमा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने समूहको अभ्यास रहेको छ। स्थानीय तहमा हुने यस्ता सांस्कृतिक गतिविधिले धार्मिक आस्था र परम्पराको संरक्षणसँगै सामाजिक सम्बन्धलाई पनि जीवन्त बनाउने सहभागीहरूको भनाइ छ। भजन तथा सांस्कृतिक कार्यक्रममार्फत एउटै ठाउँमा भेला भएर सुख–दुःख साटासाट गर्ने, आपसी परिचय बढाउने र समुदायबीचको सम्बन्ध सुदृढ गर्ने अवसर प्राप्त भएको भन्दै सहभागीहरूले कार्यक्रमप्रति खुसी व्यक्त गरेका थिए। संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, सामाजिक सद्भाव र सहकार्यको भावनालाई स्थानीय कला तथा संस्कृतिसँग जोड्दै आयोजना गरिएको फलेवासको यो कार्यक्रमले संविधान दिवसलाई नागरिकस्तरमा अर्थपूर्ण ढंगले मनाउने प्रयास गरेको देखिएको छ।