पर्वतमा एक हजार ६१ निर्वाचन प्रहरी भर्ना गरिँदै - News site from Nepal
पर्वतमा एक हजार ६१ निर्वाचन प्रहरी भर्ना गरिँदै

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ पर्वतमा एक हजार ६१ जना निर्वाचन प्रहरीहरू भर्ना गरिने भएको छ ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति पर्वतले जारी गरेको सूचनामा निर्वाचनमा खटाउने गरी उक्त सङ्ख्याका निर्वाचन प्रहरीहरूलाई भर्ना गर्ने तयारी थालिएको हो । यसमा भर्ना हुन चाहनेहरूका लागि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बलको नं. २५ गण हेडक्वार्टर चण्डिका गण कुश्माबाट फाराम लिने सकिने र दरखास्त पनि यिनै दुई ठाउँमा बुझाउन सकिने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलका अनुसार पौष २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा आवेदन दिन पाइने छ । सार्वजनिक बिदाका दिनमा समेत आवेदन दिन पाइने समितिले बताएको छ । भर्ना हुनका लागि आवश्यक आधार तथा प्राथमिकताका रूपमा माघ १ गतेसम्ममा १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्ने छ । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै पनि राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने भनिएको छ । यस्तै आतङ्ककारी एवं विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको हुनुपर्ने भनिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपादान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व बन रक्षक भएको, गत वर्षको माघ १ गतेदेखि गत पौष मसान्तसम्म नेपालका सुरक्षा फौजमा भर्ती हुनको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूले प्रवेश पत्र पेस गरेमा त्यस्ता व्यक्तिहरूलाई छनोटको लागि प्राथमिकता दिइने समितिले बताएको छ । यस्तै यस अघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि भर्नाको प्राथमिकतामा राखिएको छ ।

आवेदनको म्याद सकिएपछि माघ ५ गतेदेखि ९ गतेसम्ममा छनोटको काम सकेर माघ १२ गते अन्तिम नतिजा निकालिने छ । माघ १५ गतेदेखि २४ गतेसम्म सार्वजनिक बिदाको दिनमा समेत प्रशिक्षण गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम हुने भनिएको छ । उनीहरूको सेवा तथा सुविधाका सर्तमा नेपाल प्रहरी वा सशस्त्र प्रहरी जवानको सुरु तलब स्केल सरह प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार ७ सय ७६ रुपैयाँ हुने छ । पर्वतमा कार्यरत नेपाल प्रहरी वा सशस्त्र प्रहरीले पाए सरहको दररेट अनुसार प्रति निर्वाचन प्रहरीले चालिस दिनको लागि खाद्यान्न बापतको रकम पनि प्राप्त गर्नेछन् । यस्तै खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप एक पटकको लागि एकमुष्ट ८ सय ४६ रुपैयाँका दरले तयारी खर्च पनि निर्वाचन प्रहरीले पाउने छन् । प्रतिदिन प्रति निर्वाचन प्रहरी ३ सय रुपैयाँका दरले ४ दिनको एकमुष्ट १ हजार २ सय रुपैयाँ पनि खाजा खर्चका लागि उनीहरूले पाउने छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दररेटको आधारमा पोसाक बापतको रकम पनि उपलब्ध हुने छ ।

कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयंले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् । निर्धारित अवधिभन्दा अगावै गैर हाजिर रहेमा वा जिम्मेवारी पुरा नगरी भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै सुविधा बापतको रकम उपलब्ध नगराइने कार्यविधिमा उल्लेख छ । तर कुनै मनासिब कारणले निर्वाचन प्रहरीले करार अवधि भन्दा अगाडि छाड्ने परिस्थिति भएमा २० दिन वा सो भन्दा बढी दिन काम गरेको भएमा काम गरेको दिनसम्मको सेवा सुविधा पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!