पर्वत – नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आसन्न विशेष महाधिवेशनमा सहभागी हुन जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ ।
जिल्ला सभापति युवराज जोशीसहित जिल्लाका विभिन्न तहका नेतृत्वहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै यही पुस २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनलाई सफल पार्न आग्रह गरेका हुन् ।
‘८९ वर्ष लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली कांग्रेस यतिखेर जीवनको अत्यन्त संवेदनशील घडीमा उपस्थित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र र जनताको सर्वोच्चताको निम्ति सम्झौता नगरेको कांग्रेस देश र जनताको भरोसाको केन्द्र हो ।’
पार्टीलाई रूपान्तरित र परिवर्तनशील बनाउने महाअभियानमा जुट्नका लागि यो महाधिवेशन ऐतिहासिक हुने भन्दै नेतृत्वले पर्वत जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँमा उपस्थित भएर महाधिवेशनलाई अर्थपूर्ण ढङ्गले सम्पन्न गराउन दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।
अपिलमा जिल्ला र स्थानीय तहका प्रमुख नेताहरूले संयुक्त हस्ताक्षर गरेका छन् । जिल्ला सभापति जोशी सहित प्रदेश सभा क्षेत्र (क) का सभापति राजकुमार क्षेत्री र (ख) का सभापति प्रविन गुरुङको हस्ताक्षर छ ।
यस्तै, कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, जलजला गाउँपालिकाका सभापति इन्दुप्रकाश शर्मा, मोदीका निर्दोष लामिछाने, विहादीका विष्णुप्रसाद भुषाल, पैंयुका डम्बरकुमार प्रधान र महाशिलाका कृष्णबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
फलेवास सभापतिको भने हस्ताक्षर छैन । बदलिँदो परिस्थितिमा पार्टी सङ्गठनलाई सुदृढ बनाउन र आगामी बाटो तय गर्न भन्दै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यो विशेष महाधिवेशन बोलाएका हुन् ।
गण्डकीबाट कास्की र गोरखाले यसअघि नै सार्वजनिक अपिल गरेर कार्यक्रममा सहभागी हुन भनिसकेको छ ।






