अमृत जोशी १९ औ स्मृति दिबस-दलित समुदायका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण - News site from Nepal

पर्वत– पर्वतका स्थापित समाजसेवी स्वर्गीय अमृतप्रसाद जोशीको १९ औँ स्मृति दिवस पर्वतको जलजला गाउँपालिका वडा नंं. २ मल्लाजमा मनाईएको छ ।
स्मृति दिवसको अवसरमा दलित समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको छ । उहाँको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृती प्रतिस्ठानले मल्लाजमा रहेको समाजकल्याण आधारभूत विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाइ न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको हो ।
आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेका करिब ४५ जना विद्यार्थीहरुलाई कपडा सहित जुत्ता, झोला, कापी, कलम लगायतका सामग्रीहरु वितरण गरिएको हो । सोही कार्यक्रमको अवसरमा समाजमा बिभिन्न तरिकाले योगदान गरेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रतिष्ठानका संरक्षक एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले मल्लाजसँग आफ्‌ना भावनात्मक सम्वन्ध रहेको बताउनुभयो । उहाँल्े हरेक व्यक्तिमा सकारात्मक सोचको विकास हुनुपर्ने बताउनुभएको छ । आफूभित्र भएका नकारात्मक सोचहरु हटाउँदै जाने हो भने समाजमा भाइचारा कायम हुने उहाँको भनाई छ ।


म मात्रै राम्रो, मेरो पार्टी मात्रै ठिक, म मात्रै नेता हो भन्ने सोच पालेर दोष अरुलाई मात्रै दिने हो भने समाजको दिशा यकिन गर्न नसकिने उहाँको भनाई छ । आजभोलि हरेक व्यक्तिमा नकारात्मक सोचको विकास हुँदै गएको भन्दै उहाँले कसैको सकारात्मक प्रगतिमा पनि भ्रष्टाचारकै नजरले हेर्ने गरिएको नेता जोशीले बताउनुभयो ।
आजका युवाहरुले पनि यही सिकिरहेको भन्दै उहाँले अहिलेका बालबालिकाहरुमा पनि त्यो खालको सोच विकास हुन लागिरहेको भन्दै खतरा औँल्याउनुभयो । देशका नवयुवाहरु बाहिरीने क्रम चलिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जति विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन उनीहरुलाई संस्कार सिकाउनुपर्ने उल्लेख गर्नुभयो ।
पर्वतको विकासको बारेमा बोल्दै नेता जोशीले बर्षौ पहिले खुट्टाले हिँडेर पुगेका गाउँहरुमा अहिले सहजै सवारी सञ्चालन हुन नै विकासको उदाहरण भएको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुले विकास गरिरहेको भए पनि त्यसलाई जनतासँग जोड्न नसक्दा नागरिकले अझै पनि विकास नभएको भनेर सामाजिक सञ्जालहरुमा बिरोध गरिरहेको उहाँको भनाई छ । जोशीले मुलुकका पुराना राजनीतिक दलहरु सच्चिनुपर्नेमा जोड दिनुभएको छ । नयाँ पुस्ताको भावना र मर्म अनुसार पुराना दलहरुले आफ्‌ना कमीकमजोरीलाई सच्याउँदै लैजानुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा जलजला गाउँपलिकाका अध्यक्ष राजु आचार्य, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा, वडा नंं. २ का वडा अध्इक्ष प्रकाशबहादुर जिसी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, समाजसेवी तुलबहादुर जिसी, थमबहादुर जिसी, खेमनाथ शर्मा, रामबहादुर जिसी, डम्वरबहादुर जिसी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अमृत जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीले प्रतिष्ठानलाई राजनीतिवाट बाहिर राख्दै सामाजिक सेवामा सक्रिय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यस्तै रचनात्मक कामहरुलाई प्रतिस्ठानले अघि बढाउँलै लैजाने बताउनुभयो ।
सो अवसरमा प्रतिस्ठानका संरक्षक तथा संविधानसभा सदस्य जोशीले रु. ५० हजार रुपैयाको अक्षयकोष विद्यालयमा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ भने प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीले रु. २५ हजार रुपैया विद्यालयलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव आशिष जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!