प्रमुख समाचार

कुश्मामा संचालित महायज्ञमा झण्डै ४० लाख संकलन

By लोकतन्त्र अनलाईन

April 07, 2026

पर्वत– पर्वत सदरमुकाम कुश्मामा संचालित श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु. ४० लाख रुपैया संकलन भएको छ ।

चैत १६ गतेदेखि २३ गतेसम्म कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा सप्ताहब्यापी रुपमा महायज्ञ तथा सवाकरोड दीप प्रज्ज्वलन महोत्सव शुरु भएको थियो । विशेष गरी तिर्थयात्री तथा धार्मिक पर्यटकका लागि भोजन तथा आवास सुविधा उपलव्ध गराउने उद्धेश्यले स्थापित गायत्री सेवाश्रमको संरक्षण, सम्वद्र्धन एवम् अक्षयकोष स्थापना गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञको अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य मुक्तिनाथ बाबाले उद्घाटन तथा समापन गर्नुभएको थियो ।

मुक्तिनाथ बाबाले विश्वका मुख्य चार धाममध्ये मुक्तिनाथ लगायतका धार्मिक क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरुको सुविधाका लागि स्थापना भएको गायत्री सेवाश्रमको विकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले धर्मसंस्कृतिको विकास र जगेर्नावाट मात्रै नेपालको विकास गर्न सकिने बताउनुभयो । उहाँले पवित्र कालीगण्डकीको महिमा र सभ्यता संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुुभयो ।

महायज्ञमा श्री कृष्ण प्रपन्नाचार्य र श्री सुदर्शन प्रपन्नाचार्यले कथा बाचन गर्नुभएको थियो । महायज्ञमा मण्डपपुजन, पाठपारायण, कथावाचन, तथा राष्ट्रियस्तरका कलाकारवाट भजन कृतन,सवाकरोड दिप प्रज्वलन, तिलार्पण, महापुर्णाहुति, महाअभिषेक लगायतका गतिविधिहरु संचालित गरिएको मुल संयोजक मानकुमारी गिरीले जानकारी दिनुभयो ।